ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक १२ गते । म्याग्दीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लापरबाहीका सडक पुल योजना विगत ६ वर्षदेखि अलपत्र परेको छ । दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजनाको लापरबाही र उदासीनताका कारण दाङखोला मोटरेबल पुल निर्माण योजना अलपत्र परेको हो ।
जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ– गुर्जा सडकअन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरी गाउँपालिका–७ को सिमाना दाङखोलामा निर्माण गर्न लागिएको मोटरेबल पुलको योजना अलपत्र पर्दा बर्खायाममा यातायात सञ्चालनमा समस्या भएको छ ।
पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले इन्द्रेणी–फेवा जे.भी. पोखरासँग एकवर्षमा निर्माण सम्पन्न गर्न २०७६ जेठ २२ गते एक करोड ९३ लाख २९ हजार चार सय ५७ रुपियाँ ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौता लगत्तै १८ मिटर लामो मोटरेबल निर्माण कार्य सुरु गर्ने तयारी भएको अवस्थामा दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा दुई सय मिटर माथि पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनाले नै पुल बनाउने सहमति भएको थियो । तर जलविद्युत् आयोजनाले उक्त सहमति कार्यान्वयन नगर्दा पुल निर्माण योजना अलपत्र पर्दै आएको छ ।
जलविद्युुत् आयोजनाले समयमा काम गर्न नदिएको लगायतका कारण देखाएर निर्माण व्यवसायी अदालत जाँदा पुल निर्माण सुरु हुन नसकेकाले आयोजनाले सहमति अनुसार पुल निर्माण गर्नुपर्ने म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।
“ठेकेदारलाई काम गर्न दिएको भए त्यही समयमा पुल बन्ने थियो,” गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पूर्व मन्त्री जुग्जालीले भन्नुभयो, “सहमति अनुसार दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले नै दाङखोलामा पुल बनाउनुपर्छ ।”
२०७५ मा दाङखोलामा धवलागिरी गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जिर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवत जावत गर्न समस्या भएको धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो ।
दाङखोलामा पुल नबनेको विषयमा मौखिक रुपमा गरिएको आग्रह तथा धवलागिरी गाउँपालिका–७ को कार्यालयबाट २०८१ चैत २१ गते भएको पत्राचारको विषयमा जलविद्युत् आयोजनाले सुनुवाइ नगरेपछि सरोकारवालाहरुको मङ्गलबार फेदीमा बसेको बैठकले दवाबमूलक कार्यक्रम गर्ने निर्णय भएको वडाध्यक्ष खत्रीले बताउनुभयो ।
सर्वपक्षीय, सर्वदलीय बैठकले निर्णय कार्यान्वयनका लागि मङ्गलबारनै मालिका गाउँपालिकाको दुखुमा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको कार्यालयमा जानकारी गराइएको छ ।
धौलागिरी कालिका हाइड्रो निर्देशक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माण स्थल इल्पुमा सारिएको र मोटरेबल पुल को विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिनुभयो ।