हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक १२ गते । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे हिमालको ’हिडन भ्यालीमा हिउँमा फसेका ३ विदेशीसहित १५ जनाको टोलीलाई उद्धार गर्न सेना, सशस्त्र र प्रहरीको संयुक्त खटिएको छ ।
संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार क्षेत्र हुँदै मुस्ताङ प्रवेश गरेको टोली हिमपातका कारण समस्यामा परेपछि नेपाली सेनाको उच्च शिखर शिक्षालय, इन्द्रबक्स गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको १० जनाको टोली प्रस्थान गरेको हो । काठमाडौंको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीबाट ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना सोमवारदेखि हिउँमा फसेका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बुधबार मौसम केही अनुकुल भएकाले माथिल्लो क्षेत्रबाट पर्यटक झर्दै गरेको र तलबाट थप सहयोगका लागि टोली पठाइएको बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘पर्यटकसँग पर्याप्त खानेकुरा छ, यहाँबाट पैदल पुग्न दुई दिन लाग्छ ।’’ प्रजिअ भुषालका अनुसार सडकबाट उद्धारको टोली प्रस्थान गरेको र हेलिकप्टरबाट समेत सम्भव भएसम्म उद्धार गरिने बताउनुभयो ।
समुन्द्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा पर्ने ‘हिडन भ्याली’मा बाख्लो हिमपात भइरहेको अवस्थामा पैदलमार्गबाट एक्लै पर्यटकको टोली फर्किंदा थप जोखिम हुने भएकाले उद्धारकर्मीको टोली पठाइएको प्रजिअ भुषालले बताउनुभयो । हिडन भ्यालीमा क्षेत्रमा ५ फिटभन्दा बढी हिउँ जमेको सूचना पाएलगत्तै सुरक्षा समितिको बैठक बसेर टोली परिचालन गरिएको हो । बाक्लाे हिमपातले पदमार्ग पुरिएको अवस्थामा पर्यटकलाई यात्रा गर्न समस्या हुने भएकाले हिउँ पन्छाउने उपकरणसहित टोली खटाइएको छ ।
उद्धार गरिएपछि पर्यटकसहितको टोलीको स्वास्थ्य परीक्षणपछि एजेन्सीलाई जिम्मा लगाइनेछ जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यसअगाडि समेत म्याग्दीको धौलागिरी पदमार्ग हुँदै थासाङ गाउँपालिका–१ मा अवस्थित धम्पुस लेकको रूटमा एक जर्मनी पर्यटकसहित पथप्रदर्शक हराएका थिए । करिब १९ दिन अगाडि धौलागिरी चक्रीय पदयात्रा क्षेत्रमा करिब १२ महिना हिमपात हुने स्थानहरूमा भारी हिमपात हुँदा समस्या पर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।
म्याग्दी र मुस्ताङ जोड्ने लामो र सहासिक पदयात्राका लागि विदेशी पर्यटकले धौलागिरी चक्रीय पदमार्ग रोज्ने गरे पनि भौगोलिक विकटता, पर्याप्त पूर्वाधार, सङ्केत चिन्ह लगायतका न्यूनतम पूर्वाधार नहुँदा पर्यटक सम्पर्कविहीन हुने गरेका छन् ।