• १२ कात्तिक २०८२, बुधबार

ट्रङ्क लाइन विवाद समाधान गर्न मुख्यमन्त्रीको आग्रह

blog

सन्तोष दहित

दाङ, कात्तिक १२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योगहरू बन्द हुन पुगेका, सयौं श्रमिकहरू रोजगारीविहीन बनेको र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको प्रदेश सरकारको बुझाइ छ ।

मुख्यमन्त्री आचार्यले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा सङ्घीय सरकारले अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबिच संवाद र सहकार्यको माध्यमबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।

उहाँले उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभएको छ । विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवर्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको जनाइएको छ ।