• २६ जेठ २०८२, सोमबार

अवैध उत्खननमा संलग्न ट्याक्टरलाई जरिवाना

blog

जिल्ला समन्वय समिति रौतहट । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीणकुमार शर्मा 
चन्द्रपुर (रौतहट), जेठ २६ गते ।
नदिजन्य पदार्थको अवैध चोरी कार्यमा संलग्न तीन वटा ट्याक्टरलाई  कारवाही र  दण्ड जरिवाना गरिएको छ । रौतहटको गुजरा नगरपालिका–४ मा रहेको लालबकैया खोलामा अवैध रुपमा बालुवा उत्खनन कार्यमा संलग्न तीन वटा ट्याक्टर नियन्त्रणमा लिइ नदिजन्य सामग्री जफत गरी १० हजार रुपियाँका दरले जरिवाना गराइएको छ ।

जिल्ला समन्वय समिति रौतहटका जिल्ला समन्वय अधिकारी अमितकुमार यादवले आगामी दिनमा यस्तो कार्य नगर्न सचेत गराइएको जानकारी दिनुभयो ।

लालबकैया खोलामा अवैध उत्खनन गरी नदीजन्य पदार्थ लोड गरिरहेको अवस्थामा ना २ त ३५५९, ना ६ त ८५४६ र ना ६ त ९३२ नम्बरको ट्याक्टरलाई सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा बेस जङ्गल सहिया रौतहटको टोलीले नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि आइतवार जिल्ला समन्वय समिति रौतहटको जिम्मा लगाएको थियो ।

जिल्ला समन्वय  समिति रौतहटका जिल्ला समन्वय अधिकारी यादवले उक्त कार्य ढुङ्गा गिट्टी बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी  मापदण्ड (पहिलो संशोधन) २०७९ तथा रौतहट जिल्लाको ढुङ्गा गिट्टी बालुवा उत्खनन सङ्कलन तथा बिक्री प्रक्रियाको अनुगमन नियमनसम्बन्धी कार्यविधि २०७७ विपरीत देखिएकाले नियन्त्रणमा लिइएको बताउनुभयो । साथै ट्याक्टरमा भएको नदीजन्य सामग्री  गुजरा नगरपालिकाले प्रचलित कानुन बमोजिम लिलाम बिक्री गरी स्थानिय संचित कोषमा आम्दानी जनाउने तथा ट्याक्टरहरुलाई जरिवाना गरी सचेत गराउने निर्णय भएको उहाँको भनाइ छ ।