• १५ असार २०८१, शनिबार

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

blog

केशवचन्द्र महरा

दिपायल, जेठ ३० गते । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दिनको १० वटा सिलिन्डर भर्नसक्ने क्षमता रहेको सो प्लान्टको सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उदघाटन गर्नुभयो ।

संघीय सरकारले प्लान्ट स्थापनाका लागि ८० लाख बजेट विनियोजन गरेको भएपनि ३० लाख रुपियाँमा टेण्डर गरिएको थियो । प्लान्ट जडान भएसँगै अक्सिजन भर्न डडेल्धुरा, धनगढी, नेपालगन्ज धाउनुपर्ने बाध्यता हटेको छ । यसअघि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामध्ये डडेल्धुरामा मात्रै अक्सिजन प्लान्ट जडान भएको थियो । दोस्रोचरणको कोरोना महामारीका समय डोटीलगायत सुदूरपश्चिममा अक्सिजनको चरम अभाव भएको थियो ।

अक्सिजन प्लान्टको उदघाटन गर्दै मन्त्री रैकाले स्वास्थ्य सेवामा जनताको सहज पहुँच बनाउन आफूलगायत प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । स्वास्थ्य सेवा पनि गाँस बास, कपासजस्तै जनताको नैसर्गिक अधिकार हो उहाँले भन्नुभयो, “जनतालाई नैसर्गिक अधिकार दिलाउनु सरकारको दायित्व हो । हामी जनतालाई सहज, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिवद्ध छौं ।” 

मन्त्री रैकाले जिल्ला अस्पताललाई शव बाहन र एम्बुलेन्स पनि उपलब्ध गराइने र निकट भविश्यमै इण्डोस्कोपी सेवा पनि विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । प्लान्ट जडान भएसँगै जिल्ला अस्पताल र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा अक्सिजन अभावको समस्या समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन श्रेष्ठले बताउनुभयो । 

प्लान्टबाट पाइपलाइन बिच्छ्याएर बेडमा अक्सिजन लैजान सकिने र छुट्टै सिलिन्डर भरेर दिन सकिने उहाँले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंह, उपप्रमुख स्मृति चुनार, शिखर नगरपालिकाका पूर्वमेयर सीताराम जोशी लगायतको सहभागिता थियो ।