कोकिला ढकाल
इलाम, माघ ३० गते । आगामी फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा इलामवासी भने समृद्धिका ठुला कुराभन्दा पनि इलाम पुनर्निर्माण गर्न सक्ने नेतृत्वको खोजीमा छन् । उनीहरू चुनावमा भोट कसलाई हाल्नेभन्दा पनि जिल्लाको पुनर्निर्माणको काम कसरी गराउन सकिन्छ भन्ने चिन्तामा छन् । गत असोज १८ गतेको वर्षका कारण आएको बाढीपहिरोले ठुलो विनाश पु¥याएको इलामका बासिन्दा जिल्लाको पुनर्निर्माणमा कसको पहुँच पुुग्न सक्छ उसैलाई मत दिने मानसिकतामा रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “इलामका मतदाताले आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारसँग शिक्षा, स्वास्थ्य, विपत्पछि पुनर्निर्माण, कृषि–पर्यटन र बसाइँसराइ रोकथामलाई एउटै विकास दृष्टिकोणमा समेट्ने अपेक्षा गरेका छन् ।”
यस पटक इलामले विपत्बाट ठुलो क्षति बेहोरेकाले भविष्यलाई हेरेर पनि जिल्ला र केन्द्र जोड्न सक्ने प्रतिनिधि छनोटको आवश्यकता परेको पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घ इलामका अध्यक्ष गृष्म सुुब्बाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “दलीय सरकार परिवर्तनपछि इलाममा विपत् आइलाग्यो । वर्तमान सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त जिल्ला घोषणा पनि ग¥यो तर त्यो कागजमै सीमित देखियो । यो बिचमा जिल्लाबाट जाने जनप्रतिनिधिलाई जिम्मेवारीविहीन बनाउँदा ठुलो समस्या हामीलाई प¥यो । चालुू आर्थिक वर्षमा रातो किताबमा परेका गाउँका साना योजना सबै काटिए । यसले इलामवासीले धेरै दुुःख पाएका छौँ । अब जाने प्रतिनिधिले जिल्लाको समस्या उठाउन सक्नुु पर्छ हामी त्यही आधारमा भोट खसाल्छौँ ।” विपत्पछि अहिलेसम्म पनि पुल, सडकको समस्या झेल्दै गरेको जिल्लाको पश्चिमी क्षेत्रमा समस्या अझ जटिल छ । माइखोलाको भासिएको बेलासे पुललाई समयमा मर्मत नगरिए आफूहरू आन्दोलनमै उत्रिन बाध्य हुने अवस्था रहेको देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल बताउनुुहुन्छ । उहाँले भन्नुभयो, “बेलासेको पक्की पुल बाढीले भासियो त्यसपछि यो क्षेत्रका नागरिकले यातायातको कति समस्या झेल्नुु प¥यो, बल्ल माईखोलामा डाइभर्सन बनाएर सवारी चलाइयो तर यो पनि हिउँदभर मात्र हो ।” पोख्रेलले पनि अहिले जिल्ला र केन्द्र जोड्न सक्ने प्रतिनिधि आवश्यक रहेको बताउनुुहुन्छ ।
विपत्पछि गाउँ नै सार्नुपर्ने अवस्थामा रहेको फाकफोकथुम गाउँपालिकाको सिमसारा गाउँ अहिले पनि थिलथिलो छ । यो गाउँमा सबै जमिन धाँजा फाटेको छ । ‘सिमसाराका १६ घरपरिवारलालाई नयाँ ठाउँमा पुनस्र्थापना गर्नुपर्ने अवस्था छ । यही हिउँदभरमै सार्नुपर्ने बाध्यता छ ।’ फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले भन्नुुभयो, “कहिले दलीय सरकार आउँछ र जनताले छानेका प्रतिनिधिले काम गर्छन् जस्तो भएको छ ।” यस पटक धेरै क्षति भएकाले इलामबाट भरपर्दो र काम गर्न सक्ने प्रतिनिधि छान्न आवश्यक रहेको अध्यक्ष खनालको भनाइ छ ।
जिल्लाको प्रतिनिधित्व गर्ने यी व्यक्ति मात्र होइन अहिले सर्वसाधारण मतदाताको मत पनि उस्तै छ । इलाम नाम्सालिङ घर भई इलाम सदरमुकाम बस्दै आउनुुभएकी दिलमाया प्रधानलाई भने दैनिक उपभोग्य वस्तुुको भाउ बढेकोले समस्या थपिएको छ । उहाँ भन्नुहुन्छ, “अब हाम्रो सडक, पुल बनेन भने त हामी जस्ता दिनभरि श्रम गरेर खानेले के गर्ने ? दाल, चामल, तेलको भाउ अहिले त बढेको छ । पानी परेपछि बाटै बन्द भयो भने झन् भाउ बढ्छ । यो पटकको भोट मान्छे हेरेरै हाल्नुुपर्ने छ ।’’ गत असोज १८ गते परेको पानीसँगै आएको बाढीपहिरोले जिल्लाका धेरै सडक, पुल, खानेपानी, विद्युत्, सिँचाइ तथा कृषि क्षेत्रलाई तहसनहस पारेको छ ।