• १ फागुन २०८२, शुक्रबार

मुहारचित्र कार्यशाला सम्पन्न

blog

गोरखापत्र समाचारदाता

ललितपुर, फागुन १ गते । क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको मुहारचित्र कार्यशाला प्रतियोगितामा पहिलो पुरस्कार साहिल महर्जन,  दोस्रो श्रीनु महर्जन र तेस्रो पुरस्कार कौशलसिंह केसीले पाउनुभएको छ । योङ पिकासोद्वारा बिहीबार पाटन दरबार सङ्ग्रहालयमा आयोजित तेस्रो राष्ट्रिय चित्रकला प्रतियोगितामा कलाकार कुमालेको मुहारचित्र बनाएर साहिल, श्रीनु र कौशलले क्रमशः २५ हजार, आठ हजार र पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको हो । 

त्यसै गरी बालकिशोर  चौधरी र रिजेन महर्जनले सान्त्वना पुरस्कारस्वरूप दुई/दुई हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।  नेपाली ललितकला क्षेत्रका जीवित सम्पदा मूर्तिकार कलाकार कालु कुमालेको योगदानलाई  उजागर गर्न आयोजित प्रतियोगितामा स्कुल, कलेजमा अध्ययनरत विद्यार्थीदेखि कला क्षेत्रका वरिष्ठ कलाकारसमेतले सहभागिता जनाउनुभएको थियो । योङ पिकासोका निर्देशक कलाकार अजय देसारले कलाकार कालु कुमालेको व्यक्तित्व र कृतित्वको संरक्षण, प्रवर्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वरिष्ठ कलाकारसहित अन्य प्रतियोगी कलाकार, कलाका विद्यार्थीसहित दुई सय जना सहभागी रहेको बताउनुभयो । 

पाटन सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुरेश लाखेले कलाकृतिको संरक्षण, प्रवर्धनका लागि स्थापना गरिएको यस सङ्ग्रहालयपरिसरमा यस पटक क्रोधकला शिरोमणि कालु कुमालेप्रति समर्पित मुहारचित्र कला कार्यशालाको आयोजना गरेर कलाकार कुमालेले  नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्ने अवसर मिलेको बताउनुभयो । 

यस प्रतियोगिताको निर्णायक मण्डलमा कलाकार आइभी मल्लको संयोजकत्वमा कलाकार अजय देसार, क्रोधकला शिरोमणि फाउन्डेसनका अध्यक्ष राकेश अवाले रहनुभएको थियो । प्रतियोगितामा क्रोधकला शिरोमणिको उपाधिबाट विभूषित ९३ वर्षका कलाकार कालु कुमाले (कुम्हा) उपस्थित भएर कलाकारको हौसला बढाउनुभयो ।  

ललितपुर थपाटोल ओकुबहालमा जन्मनुभएका कलाकार कुमालेको बाल्यकाल आफ्ना पितासँगै माटोको भाँडा र  विभिन्न आकृति बनाउँदै कलायात्रा अगाडि बढ्यो । उहाँको मूर्ति सन् १९६८ मै लन्डनस्थित  भिक्टोरिया एन्ड अल्बर्ट म्युजियममा राखिएको छ । भारत, तिब्बतका थुप्रै गुम्बा, मन्दिर देवस्थलमा उहाँका मूर्तिकला देवताका रूपमा पूजा गरिँदै आएको छ ।