• १ फागुन २०८२, शुक्रबार

स्वदेशमै उद्यमी बन्ने १३५ छात्राको सपना

blog

सफलताको कथा सुन्ने क्रममा छात्राहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, फागुन १ गते ।
धेरैजसो विद्यार्थीको सपना कक्षा ११–१२ सकेपछि विदेश जाने हुन्छ । तर तनहुँको दमौलीका १३५ जना छात्राले भने बिहीबार एक सफल महिला उद्यमीको सङ्घर्ष सुकेपछि अलि फरक सोच्न थालेका छन् “केही गर्ने भए आफ्नै माटोमा पसिना बगाउनुपर्छ ।’’

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लबको व्यवस्थापनमा सञ्चालित ‘बालिका शिक्षा कार्यक्रम’ अन्तर्गत सत्यवती माध्यमिक विद्यालयका छात्राहरूलाई ‘उद्यमशीलता’ सिकाउन कक्षाकोठाबाट बाहिर निकालिएको थियो । छात्राहरूलाई व्यास नगरपालिका–२ स्थित जेनेसिस किन्डर वल्र्ड मन्टेश्वरीको स्थलगत भ्रमण गराएर सफल उद्यमी सुशीला राईसँग साक्षत्कार गराइयो ।

मेन्टोरिङबाट छात्राहरूमा ऊर्जा मन्टेश्वरीकी सञ्चालक राईले छात्राहरूलाई आफ्नो संघर्षपूर्ण यात्रा सुनाउँदै भन्नुभयो, “सफल हुन सात समुद्र पार नै जानुपर्छ भन्ने छैन । साहस, सही लगानी र कामप्रतिको प्रतिबद्धता भयो भने आफ्नै ठाउँमा आत्मनिर्भर बन्न सकिन्छ ।’’

उहाँले महिलाहरूले पनि नेतृत्वदायी भूमिकामा रहेर ठुला व्यवसाय सम्हाल्न सक्छन् भन्ने उदाहरण छात्राहरूलाई देखाउनुभयो ।
भ्रमणपछि कक्षा ११ की छात्रा सुरुची गुइदेलले उद्यमी राईको संघर्षबाट आफूलाई लक्ष्यप्रति दृढ रहने प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि पछि हट्नु हुँदैन भन्ने सिकेँ ।’’ अर्की छात्रा लसना प्रधानले सफल महिलाको कथा सुन्दा आफूमा नयाँ उत्साह जागेको अनुभव सुनाउनुभयो भने सन्ध्या थापाले यस्ता व्यवहारिक सिकाइले किताबी ज्ञानलाई अझ प्रष्ट पारेको बताउनुभयो ।

सीप र नेतृत्वमा जोड सूर्योदय क्लबले बालिका शिक्षा कार्यक्रममार्फत बालिकाहरूलाई जीवनोपयोगी सीप, नेतृत्व क्षमता र व्यवहारिक ज्ञान दिँदै आएको छ । कार्यक्रममा रुम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, सूर्योदय क्लबका कार्यक्रम अधिकृत कलावती बिमली तथासामाजिक परिचालकहरू सिर्जना राउत र सुष्मा नागिलाको उपस्थिति थियो । छात्राहरूलाई समाजमा सफल व्यक्तित्वहरूसँग जोडेर उनीहरूको आत्मविश्वास बढाउने उद्देश्यले यस्ता ‘सामूहिक मेन्टोरिङ’ र जीवन उपयोगी सीप सत्रहरू नियमित सञ्चालन भइरहेको क्लबले जनाएको छ ।