नेपालगन्ज, फागुन १ गते । नेपालगन्जमा आयोजना गरिएको पब्लिक स्पिच बाँके सिजन–४, कोहलपुरस्थित लक्ष्मी माविकी विद्यार्थी आशिका केसीले जित्नुभएको छ । वास नेपालको आयोजनामा सम्पन्न भएको पब्लिक स्पिच प्रतियोगिताको फाइनल राउन्डमा आशिकाले अन्तिम १० प्रतिस्पर्धीलाई पछाडि पार्नुभएको हो । कृष्ण मावि कोहलपुरकी श्रृष्टि बुढामगर र तेस्रो स्थान ज्ञानोदय नमुना मावि खजुराकी मनीषा उपाध्यायले हासिल गर्नुभयो ।
भोटिङका आधारमा ‘पब्लिक च्वाइस अवार्ड’ ज्ञानोदय नमुना मावि खजुराकी मनीषा उपाध्यायले जित्नुभएको छ । विद्यार्थी तथा युवामा वक्तृत्वकला, भाषणकला र सार्वजनिक अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले ‘पब्लिक स्पिच’ प्रतियोगिता आयोजना गरिएको वास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो । राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख बाँस्कोटाले यस्ता प्रतियोगिताले सानै उमेरदेखि बालबालिकामा राम्रो क्षमताको विकास गर्ने बताउनुभयो ।