• १ फागुन २०८२, शुक्रबार

एडिबीको दक्षिण एसिया विभागमा अर्थशास्त्री श्रेष्ठ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १ गते । एसियाली विकास बैङ्को दक्षिण एसिया विभागको महानिर्देशकमा नेपालका अर्थशास्त्री सोना श्रेष्ठ नियुक्त हुनुभएको छ । 

बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने गरी उहाँलाई नियुक्त गरिएको एडिबी मुख्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । उहाँले यी मुलुकमा एडिबीको रणनीति र सञ्चालनको नेतृत्व गर्नुहुने विज्ञप्तिमा उल्लेख छ ।

२३ वर्षदेखि एडिबीमा आबद्ध श्रेष्ठ यसअघि सोही विभागमा उपमहानिर्देशक हुनुहुन्थ्यो । उहाँले एडिबीको स्वतन्त्र मूल्याङ्कन विभाग, दक्षिणपूर्व एसियाको वित्तीय क्षेत्र तथा व्यापार विभाग र इन्डोनेसियामा आवासीय उपनिर्देशकको भूमिका निर्वाह गरिसक्नु भएको छ । 

महानिर्देशकमा नियुक्त भएपछि उहाँले दक्षिण एसियाली क्षेत्रमा समावेशी र दिगो विकासलाई अझै गतिशील बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

श्रेष्ठले क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । नेपालमा एडिबीले ऊर्जा क्षेत्रमा प्रसारण लाइन विस्तार, जलविद्युत् आयोजना, नवीकरणीय ऊर्जा, विद्युत्, व्यापार जस्ता क्षेत्रमा साझेदारका रूपमा काम गर्दै आएको छ । उहाँको नेतृत्वले ऊर्जा, पूर्वाधार र क्षेत्रीय ऊर्जा सहकार्य विस्तारमा नयाँ गति दिने अपेक्षा गरिएको एडिबीले जनाएको छ ।