• २१ जेठ २०८२, बुधबार

जुम्लामा दुई वडाध्यक्ष माथि चक्कु र ढुङ्गा प्रहार

blog

तिला गाउँपालिका ५ का वडाध्यक्ष ललित शाही ।

नौरते नेपाली

जुम्ला, जेठ १९ गते । जुम्लाको तिला गाउँपालिकामा दुई जना वडाध्यक्षमाथि आक्रमण भएको छ। तिला गाउँपालिका ५ का वडाध्यक्ष ललितबहादुर शाही माथि आइतबार चक्कु प्रहार भएको छ भने सोही गाउँपालिका ३ का वडाध्यक्ष धनबहादुर शाहीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।

४२ वर्षीय वडाध्यक्ष ललित शाहीमाथि वडा नम्बर ४ मा विकास आयोजनाको अनुगमन सकेर घर फर्कने क्रममा सामूहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो । पीडित वडाध्यक्ष शाहीले तिला ३ का लक्की बुढा, तिला ४ का सुधन शाही र सुशील शाहीले चक्कु प्रहार गरेको आरोप लगाउनु भएको छ । उहाँले आक्रमणकारीसँग आफ्नो कुनै विवाद नरहेको र अब कानुनी प्रक्रियामा जाने बताउनु भयो। ‍‘घर फर्किँदै थियौँ, एक्कासि चक्कु प्रहार भयो,‍’ शाहीले भन्नुभयो ‍‘ज्यान मार्ने उद्योगमा जाहेरी दिने तयारी छ।‍’ चक्कु प्रहारबाट घाइते शाहीको शरीरको पछाडिको विभिन्न भागमा १७ वटा टाँका लगाइएको छ। उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असीम हमालले जानकारी दिनुभयो । प्रहरी निरीक्षक हमालका अनुसार पीडितले तीन जनाको नाम किटान गरे पनि प्रहरीले हालसम्म एक जनालाई जुम्ला बसपार्कबाट पक्राउ गरेको छ। 

अन्यको खोजी कार्य जारी रहेको उहाँले बताउन भयो । प्रहरीले हालसम्म पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन। यसै गरी, तिला गाउँपालिका(३ का ३८ वर्षीय वडाध्यक्ष धनबहादुर शाहीमाथि पनि ढुङ्गा प्रहार भएको छ। वडाध्यक्ष शाहीले आफूमाथि ढुङ्गा प्रहार भए पनि हेल्मेट लगाएका कारण चोट लाग्नबाट जोगिएको सुनाउनु भयो । ‍‘उनीहरूको नियत ज्यान मार्ने उद्देश्यकै रहेको देखियो,‍’ धनबहादुरले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविनबाबु रेग्मीले चक्कु प्रहार गर्ने युवाविरुद्ध निवेदन परेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । घाइते वडाध्यक्ष ललित शाहीलाई भेट्न गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया र उपाध्यक्ष कल्पना बुढा अस्पताल पुगेका थिए। उहाँहरूले दोषीमाथि कारबाहीको माग गरेका छन्।