गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १९ गते । पृथ्वीनारायण शाहको नेतृत्वमा अंग्रेजसँग भएको ऐतिहासिक सिन्धुलीगढी युद्धको विषयमा चैतन्य प्रधानद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सिन्धुलीगढी युद्ध’ पुस्तकको विमोचन गरिएको छ ।
श्री १००८ विश्वमोहिनी विष्णु कोइरालाले डिल्लीबजारस्थित कार्यक्रममा आज पुस्तकको विमोचन गर्नुभयो । कार्यक्रममा डा. सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकार प्रेम कैदी, डा. प्रेमसिंह बस्न्यात लगायतले पृथ्वीनारायण शाहको रणनीति, रणकौशलबारे चर्चा गर्नुभएको थियो । सिन्धुलीगढी युद्धमा गोरखालीको विजयका कारणले दिएको योगदान र महत्वबारे कार्यक्रममा बृहत अन्तरक्रिया गरिएको छ।
पुस्तकका लेखक चैतन्य प्रधानले हिमवतखण्डमा लुकेर बसेका अनेकौं बाइसे र चौबिसे राज्यलाई एकीकरण गरेको विषय पुस्तकमा समेटिएको छ । तीनसय १२ पृष्ठको यस उपन्यासले पृथ्वीनारायण शाहकालीन इतिहास बुझ्न महत्वपूर्ण सहयोग पुग्ने चर्चा त्यस अवसरमा भएको थियो ।