• २१ जेठ २०८२, बुधबार

काम नगर्ने ठेकेदार अव कानुनी कारबाहीमा : मन्त्री यादव

blog

इलाम,  जेठ १९ गते । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताउनु भएको छ । कामको प्रगति हेरेर काम नगर्नेलाई तत्काल कानुनी कारबाही सुरु गर्ने बताउनुभयो ।

आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारविरुद्ध कानुनी दायरामा ल्याइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन । खानेपानीको आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिँदैन, कानुनी दायरामा ल्याइने छ ।”

यसै गरी मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बहाना बनाएर खानेपानीको आयोजनाहरूमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म मन्त्री स्वयं यहाँ आएको छु । आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नु पर्छ, यात अब ठेक्का रद्द गर्नुपर्छ ।”

मन्त्री यादवले निर्माणमा ढिलासुस्तीको काम तत्काल बन्द गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गर्नु हुर्दै समस्या आइपरेको खण्डमा तत्काल मन्त्रालयमा वा आफूलाई जानकारी दिन समेत आग्रह गर्नुभयो ।

कन्याम–पञ्चकन्या खानेपानी योजनामा ७७ प्रतिशत काम भइरहेको बारे आफूले जानकारी पाएको बताउनु हुँदै मन्त्री यादवले भन्नुभयो, “वर्षाद्को बेला आएको छ, बाढी आउँछ, केही घटना होला त्यसको जिम्मा कसले लिने रु बाँकी रहेको यो खानेपानीको काम तत्काल सुरु गर्नुहोला । अधुरो छोडिएको पाइपलाईको काम भोली बिहानबाट सुरु गर्नुस् ।”

नागरिकलाई सुरक्षित, स्वच्छ एवं शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा रहेका सबै खानेपानी आयोजनाहरूमा नतिजा देखिने गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री यादवले खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने सङ्केत गर्नुका साथै खानेपानीको क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

उहाँले भन्नुभयो, “अबका दिनमा नयाँ योजनाहरू सुरु हुनेछन् । अधुरा योजनाहरू  पुरा हुनेछन्, र जनताले सहज र भरपर्दो खानेपानी सेवा पाउनेछन् भन्नेमा म पूर्ण विश्वासका साथ अघि बढेको छु । ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारबाही गर्छु ।”

देशका प्रत्येक नागरिकले स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी सहज रूपमा पाउनुपर्छ भन्ने आफ्नो दृढ विश्वास रहेको र आफ्नो अथक प्रयासले यस वर्ष खानेपानी मन्त्रालयको बजेटमा वृद्धि भएकाले विगतका वर्षहरूमा बजेट अभावका कारण अधुरा रहेका योजनाहरू अब पूरा गरिने प्रतिबद्धता जनाउनुभयो ।

उक्त कार्यक्रममा सूर्योदय नगरपालिका, फिक्कल इलामका नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, कर्मचारी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।

नेपाल सरकारले आधारभूत स्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्‍याउने उद्देश्यले आर्थिक वर्ष २०६८र६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत जलवायु अनुकूलित वृहत् खानेपानी आयोजना तर्जुमा गरेको र सोही आयोजना अन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजना स्थल सूर्योदय नगरपालिका–३, ६–८, १०–१४, इलाम नगरपालिका–१० र रोङ गाउँपालिका–३ मा पर्ने गरेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामले जनाएको छ ।