• २१ जेठ २०८२, बुधबार

संस्थापक विषय टुङ्गो लगाउन ध्यानाकर्षण

blog

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मालाई ज्ञापनपत्र बुझाउँदै फोनिजका अध्यक्ष लक्की चौधरीसहित पदाधिकारी र सदस्यहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १९ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारी तथा सदस्यहरुले नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग भेट गरी महासंघको संस्थापक विषयलाई चाँडो टुङ्गो लगाउन पुनः ध्यानाकर्षण गराएको छ । 

आज महासंघको केन्द्रीय कार्यालयमा भएको दुई पक्षीय छलफलमा सो माग गरिएको फोनिजका महासचिव समीर बलामीले जानकारी दिनुभयो । सो अवसरमा फोनिजले महासंघका अध्यक्ष तथा पदाधिकारीहरुलाई संस्थापकको विषयलाई तीन महिनाभित्र टुङ्गो लगाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्रमा महासंघको २७ औं महाधिवेशनको बन्दसत्रले गरेको निर्णयअनुसार भित्रुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभाग र इतिहास विभागका पदाधिकारीहरु सम्मिलित अध्ययन कार्यदल बनाएर संस्थापक विषय टुङ्ग्याउन आग्रह गरिएको महासचिव बलामीले बताउनुभयो । 

फोनिजले तत्कालीन नेपाल पत्रकार संघको तदर्थ समिति गठन वि.सं. २००८ साल वैशाख ९ गतेको भेलाले गरेको र वि.सं. २००९ वैशाख २८ गतेको अर्को भेलाले सो समितिलाई विस्तार गरी तत्कालीन नेपाल टुडेका सम्पादक सत्यनारायणबहादुर श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिएकाले सोहीअनुसार सम्बोधन गरिनुपर्ने माग गर्दैआएको छ । वि.सं. २०१२ चैत १६ गते पुनर्गठन गरिएको समितिलाई संस्थापक मान्ने आधार नरहेको फोनजिको अडान रहेको बलामीको भनाइ छ । 

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले फोनिजले गराएको ध्यानाकर्षणअनुसार सो विषयलाई केन्द्रीय समिति बैठकमा छलफल गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । फोनिजको सुझाव, अग्रज पत्रकारहरको सल्लाह र परामर्शबमोजिम सो विषयलाई टुङ्गो लगाइने उहाँले बताउनुभयो । महासंघका पूर्व अध्यक्षहरुसँग पनि सो विषयमा आवश्यक सल्लाह गरी अघि बढ्ने उहाँको भनाइ छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संस्थापक विषयमा आवश्यक छलफल गरी अघि बढ्ने बताउनुभयो । यो विषयलाई मापदण्ड बनाएर अग्रज पत्रकारसँगको परामर्शमा टुङ्गो लगाउने उहाँले प्रतिवद्धता जनाउनुभयो । 

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले महासंघको संस्थापक विषयलाई टुङ्गो लगाउन ढिलाइ गर्न नहुने बताउनुभयो । महासंघको ऐतिहासिक विरासतलाई न्याय हुनेगरी टुङ्गो लगाउन आवश्यक रहेको भन्दै २००८ साललाई आधार मान्दा महासंघको इतिहासमा चार वर्ष थप हुने  बताउनुभयो । 


वि.सं. २००८ सालमा गठन भएको तत्कालीन नेपाल पत्रकार संघ र २०१२ सालमा पुनर्गठन भएको संघको दुवै समिति तदर्थ समिति भएकाले तदर्थ समितिलाई संस्थापक मान्दा सुरुको समितिलाई मान्न आवश्यक रहेको बताउनुभयो । दर्ता भएको समितिलाई संस्थापक मान्दा दुवै समितिलाई न्याय हुनेगरी महासंघको विधानमा अविछिन्नता कायम गर्न उहाँले सुझाव दिनुभयो ।  

महासंघको संस्थापक विषयलाई टुङ्गो लगाउने अभियानमा फोनिजले सबै किसिमको सहयोग गर्न तयार रहेको भन्दै उहाँले नयाँ कार्य समितिलाई सो विषयमा पहल लिन आग्रह गर्नुभयो । तत्कालीन संघलाई वि.सं. २०१८ सालको कार्य समितिले दर्ता गरेको थियो । तत्कालीन संघ २०५३ सालमा आएर महासंघ बनेको थियो ।  

सो अवसरमा महासंघका अध्यक्षसहित पदाधिकारीमा महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, सचिव तथा सदस्यहरुको सहभागिता थियो । त्यसैगरी फोनिजको तर्फबाट अध्यक्षसहित उपाध्यक्ष अन्जना शिल्पकार, महासचिव बलामी, सचिव सुनिल महर्जन, कोषाध्यक्ष अर्जुनबहादुर तामाङ र सदस्यहरु, नेवाः राष्ट्रिय दबुका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुको सहभातिगा थियो ।