चित्र मिजार
सिन्धुपाल्चोक, जेठ १९ गते । बाढीपहिरोले विगतमा जस्तो मानवीय र भौतिक क्षति नहोस् भन्ने हेतुले बलेफी गाउँपालिका–८ ले वर्षायाममा हुने मनसुनजन्य विपद् न्यूनीकरणका लागि विपद् प्रतिकार्य समिति गठन गरेको छ । साथै वडाका २५ जना समेटेर विपद् सूचक तयार गरिएको छ ।
वडाध्यक्ष रमेश श्रेष्ठ नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय स्वास्थ्य संस्था, स्थानीयवासी लगायतका सरोकारवाला व्यक्तित्व समेटर समिति गठन गरिएको छ । उक्त वडामा २०७१ सालको भीषण जुरे पहिरोबाट १ सय ५६ जनाको मृत्यु भएको थियो भने सो पहिरोले सयको सङ्ख्याका घरहरू पुरिएको थियो । सामुदायिक विद्यालय, रिसोर्ट, सार्वजनिक संरचना पहिरोले बगाएको थियो ।
यस्तै, २०७२ सालको विनासकारी भूकम्पले सयौं घर ध्वस्त बनाएको थियो भने एक सय जनाको निधन भएको थियो । त्यसबेला स्थानीय स्तरमा मनसुनजन्य विपद् न्यूनीकरण प्रतिकार्य समिति थिएन। आगामी दिनहरूमा मनसुनजन्य र मौसमजन्य विपद् न्यूनीकरणका लागि समिति गठन गरेर मानवीय र भौतिक क्षति हुन नदिन अहिलेदेखि नै काम थालिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । विपद् आएमा प्रतिकार्य स्वरूप वडाले विपद् सामग्री तयार गर्न थालेको छ । हेलमेट, डोरी, ओकेटोके सेट, क्यारेबिन, माइकिङ सेट लगायतका सामग्री वडाले सङ्कलन गरेको छ ।
अझै आवश्यक विपदजन्य प्रतिकार्य सामग्रीहरू ठुलो टर्चलाइटहरू, सावेल, पिक, मेसिनरी आरा, त्रिपाल, टेन्ट, जस्तापाता लगायतका सामग्री बलेफी गाउँपालिकालाई माग गरेको छ । साथै विपद्का समयमा वडामा क्रियाशिल निर्माण कम्पनीसँग हेवी इक्युमेन्ट, मेसिन लगायतका सामग्री माग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोकमै यस वर्ष पहिलो पटक वडा स्तरमा मनसुनजन्य विपद् न्यूनीकरणका काम सुरु भएको हो ।