• २१ जेठ २०८२, बुधबार

बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

blog

धनगढी समाचारदाता

धनगढी, जेठ १९ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) को सिद्धान्त र प्राथमिकतामा प्रतिपक्षले सुधार गर्न माग गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि सदनमा छलफल गर्दा प्रतिपक्षले भने आलोचना गरेका छन् ।  

सत्तापक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डम्मरी महराले समग्र प्रदेशको विकासका लागि बजेटको सिद्धान्त र प्राथमिकता उचित रहेको बताउनुभयो । यो निष्पक्ष र पारदर्शी रहेको भन्दै उहाँले बहुमतले पारित गर्नका लागि आग्रह गर्नुभयो । 

त्यस्तै नेकपा (एमाले) का प्रमुख सचेतक चक्र मल्लले युगलाई बुझेर सिद्धान्त र प्राथमिकता आएको भन्दै यसलाई बजेटसँग तादम्यता दिनुपर्ने औँल्याउनुभयो । विगतमा सिद्धान्त एउटा, प्राथमिकता अर्को र बजेट अर्कै आएको भन्दै उहाँले अहिले प्रस्ट रूपमा सिद्धान्त र प्राथमिकता आएको भन्दै समर्थन जनाउनुभयो । 

प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रमेशसिंह धामीले संविधानतः टेक्ने ठाउँ सिद्धान्त र प्राथमिकतामा नरहेको भन्दै बहुमतले अस्वीकृत गर्न आग्रह गर्नुभयो । विषयवस्तुमा सबै कुरा समेट्न खोजे पनि बजेटमा त्यो समेटिने कुनै ग्यारेन्टी नरहेको उहाँको जिकिर थियो । 

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य माया भट्टले सिद्धान्त र प्राथमिकता तर्कसङ्गत छ वा छैन त्यो खोज्न जरुरी रहेको बताउनुभयो । छलफलको क्रममा उठेको विषयमा जवाफ दिनुहुँदै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले समावेशी, सन्तुलित बजेट निर्माण होस् भनेर सिद्धान्त र प्राथमिकताका केही आधार बनाएर प्रस्तुत गरेको बताउनुभयो । 

सबैको भावनालाई समेटेर आगामी बजेट बनाइने उहाँको भनाइ थियो । “आर्थिक वर्ष २०८१/८२ को बजेटको अनुभव राम्रो छैन । कारण वश दुई वटा बजेट प्रस्तुत भयो,” उहाँले भन्नुभयो, “अबको बजेटमा त्यस्तो जटिलता हुनु हुँदैन ।