• १२ पुस २०८२, शनिबार

जीवनबोध छर्दै छु दुप्चेश्वरको पहरोमा !!

blog

गाउँ, टोल सहर हुँदाहुँदै हतपते महादेवको चर्चाले छिमेकी मुलुक पनि आकर्षित भएर सोहोरिएको । साउनको त्यो भिड । तीर्थालु भान्टा चढाउन आएको त्यो लर्को । बोलबमको अनुगुञ्जन । पीताम्बरधारी शिवभक्तको जयकारा । आहा ! त्यो मेरो अप्रतिम आस्था । त्यो किशोर उमङ्ग । विश्वासको अटल मेरो आकाश ।

पहराको साँघुरो मार्गमा तीर्थालु भेषमा उभिएकी छु । २०८२ को पुस जन्मिएको जम्मा पाँच दिन भएको छ । पुसले आफ्नो असली रूप र रङ देखाउन आरम्भ गरेको छ । स्रष्टा पदयात्राको १०१ औँ यात्रामा सहभागी हुन आएकी छु, नुवाकोटको पशुपतिनाथ अर्थात् दुप्चेश्वर महादेव तीर्थ । 

पैतालाको पोषाक ऊ तलै खोलेर चिसो ढुङ्गाको छातीमा उभिएकी छु । भक्तालुको ताँती लामै छ । शनिबार सहर सोहोरिएर आएको छ सदाशिवको दर्शनमा ।

चालिस मिनेट नाघिसक्यो यसरी लाइनमा उभिएको । गफका अनेकौँ भन्ज्याङ छिचोलिसक्यौँ । मान्छेको ताँती कछुवा चालमा सर्दै छ । पैतालाबाट पसेको चिसो टुप्पीसम्मै पुगिसक्यो । स्याँठले ठोक्किएको दृष्टि पर परसम्म फैलिएको छ । तल तादी खोला स्पष्ट देखिन्छ । तादीपारिको सुन्दर संरचनाले यहाँ टेकेदेखि नै आँखा तानेको छ । अनुमान गर्छ मन, पक्कै सुविधासम्पन्न महँगो आवास हुनु पर्छ । देखिन्छ माथिबाट नदीकिनारमा रोक्किएका अनेकौँ सवारीसाधन । हेर्छु मन्दिरसम्म पुग्नका लागि पहरामा निर्माण भएका सुन्दर सिँढीमार्ग । 

हरियाली ओढेको जङ्गल चारैतिर सुसाएको छ । अप्ठ्यारो मासिएर सुविधासम्पन्न भइसकेको समयमा आएकी छु, भाग्यमानी बनेर । थियो होला कुनै दिन यो अक्करमा अति नै अप्ठ्यारो । छक्क पर्छु सजिलोमा बस्दैनन् किन शिव ! अप्ठ्यारोमै बस्न रुचाउँछन् शिवशङ्कर । हुन त कैलाशपति भएर नै होला उच्चतामा निमग्न । 

कतै जलमा जलेश्वर भएर बस्छन् त कतै छिरेश्वरमा छरिएर । कतै टुटेश्वर भएर टुट्छन् त कतै भष्मेश्वरमा भष्म दलेर । दुप्चेश्वरमा दुधकै धारा बगाएर । नुवाकोटको आन, मान र सानमा चर्चित हुँदै छ दुप्चेश्वर महादेव । स्मृतिगङ्गामा तैरिन्छ शिवप्रतिको मेरो पहिलो प्रेम, श्रद्धा, आकर्षण र अनुराग ।

दुधौली नगरपालिका–२ हतपते गाउँमा अवस्थित मधुगङ्गा महादेवसँग पहिलो परिचय भएको थियो । टेकेकी थिएँ कुमारी पाइलाले प्राकृतिक शिवालय । धाएकी छु कैयौँ पटक शिवालय । वाञ्छाका अनेकौँ भार बोकेर । चँदाको भेलमा हेलिएर । छरछरेको उकालोमा कलिला पाइला रगडेर ।

मस्तिष्कमा महादेव उत्पत्ति कथा आएर चलचित्र कुद्छ । मधुगङ्गा महादेवको कथा पनि बडो रमाइलो छ । आउँदा गाडीमा वासुदेव सरले भन्नुभएको थियो, “अनिताले त यात्रा लेख्छौ होला, लु यो पुस्तक तिमीलाई ।” हर्षित हुँदै लिएकी थिएँ शिखर–सौगात दुप्चेश्वर यात्रा विशेषाङ्क । 

प्रतीक ढकालको नियात्रा दुप्चेश्वरको सेरोफेरो पढी पनि हालेकी थिएँ । अहो ! बाल्यकालमा सुनेको मधुगङ्गा महादेवको उत्पत्तिको कथा पनि त ठ्याक्कै यस्तै थियो । त्यो गाउँमा पनि त गाई हराएको थियो । खोज्दा नभेटिएको । साता दिनपछि त्यो खोल्सीमा गएर गाईले शिवलिङ्गमा दुध चढाइरहेको । गाउँ, टोल, सहर हुँदाहुँदै हतपते महादेवको चर्चाले छिमेकी मुलुक पनि आकर्षित भएर सोहोरिएको । साउनको त्यो भिड । तीर्थालु भान्टा चढाउन आएको त्यो लर्को । बोलबमको अनुगुञ्जन । पीताम्बरधारी शिवभक्तको जयकारा । आहा ! त्यो मेरो अप्रतिम आस्था । त्यो किशोर उमङ्ग । विश्वासको अटल मेरो आकाश ।

गोडाभरि मुसा निस्केर हैरान मन । भनिदिए भन्नेले भान्टाको भार शिवलाई चढायो भने शरीरमा निस्किएका मुसाहरू नासिन्छन् । भान्टाको भार लिएर चँदाखोला तरेर उक्लिएको त्यो उकालो । मेरो श्वासको फ्वाँ फ्वाँ सुन्दै छु नुवाकोटबाट । पानी दर्किएको साउन कति चिप्लो । कहाँ पाउनु ट्रेकिङ जुत्ता । फित्तावाल चप्पल त्यो पनि हात्तीछाप । चिप्लिएर फित्ता स्वाल्यात्तै पछाडि पुगेर गोडा अड्किएको । कठै त्यो अव्यवस्थित यात्रा । बाटोमा झरेको वनआँपको त्यो स्वाद । मुख सरर रसायो... दुप्चेश्वर महादेवको उत्पत्ति कथा पनि उस्तै रहेछ । 

देवीदेवताको उत्पत्ति कथा पृथक पृथक् किसिमले कथिएका रहेछन् । अहो ! कतै देवीदेवताको कथाको कित्ता छुटिएको त हैन ! शिवको एक किसिमको । गणेशको अर्को । देवीको छुट्टै । देवीदेवताको उत्पत्ति कथालाई वर्गीकरण त गरिएको हैन ? आधुनिक साहित्यमा मनोवैज्ञानिक कथा, यौन कथा, पर्यावरणीय कथा, युद्ध कथा, सामाजिक यथार्थवादी कथा लेखिएको जसरी । 


एक हुल दिदीबहिनी लालाबालासहित लाइन नबसी हामी उभिएको ठाउँमा अर्को बाटोबाट लुइत्त छिरे, के भन्नु माफी दिनै प¥यो । काखीमा बच्चा चेपेकीलाई त छुटै छ तर चलाखी गर्ने भक्तजनको पनि कमी छैन यहाँ । ईश्वरको दर्शन गर्न आएको मन हतारको मार्गमा लोभिएर पस्छन् बिचैबाट सुट्टसुट्ट । 

चट्टानी भित्ताको आडमा उभिएका छौँ । कानभित्र एउटा आवाज मडारिँदै छ.. मान्छेको हृदय त पाषाण नै भइसकेको छ । ढुङ्गा बनेको मान्छेसँग के आश गर्नु र ! संवेदनाशून्य हुँदै छ मान्छेको हृदय । पाषाण हृदय कहिले रसाउँदैन । ढुङ्गाको मुटु भइसकेको मान्छेसँग के अपेक्षा गर्नु । ढुङ्गालाई कुनै असर नै गर्दैन ...। म चकित हुँदै छु, अहो ! ढुङ्गालाई बदनाम गर्ने मान्छे आखिर ढुङ्गालाई नै शक्तिशाली ठान्न विवश छ । ढुङ्गाको हृदय लिएको मान्छे पनि ढुङ्गामा माथ टेकेर आफ्ना तमाम वाञ्छाहरू पूरा होस् भन्ने कामना गर्छ । 

कस्तो विडम्बना ईश्वर बन्न सक्छ ढुङ्गा तर मान्छे बन्दै छन् ढुङ्गा । ढुङ्गामा ईश्वर देख्न सक्ने मान्छे किन मूढ छन् ? किन आफ्नै जातिप्रति हिंस्रक बन्दै छन् ईश्वरको नाममा । लेख्दै गर्दा मन रोएको छ बङ्गलादेशको त्यो अमानवीय व्यवहार देखेर । आखिर धर्म कसले बनायो ? ईश्वर कसले रच्यो ? ईश्वर त अपेक्षाविहीन छ । आवाजविहीन छ । मान्छे किन आक्राेशित छ ईश्वरको वकालतमा ? विडम्बना ढुङ्गालाई बदनाम गर्दै छ ढुङ्गा बनेको मान्छे ... ।

ढुङ्गामा परेको बीज कहाँ उम्रिन्छ र ! जति नै उन्नत बीज भए पनि ढुङ्गामा प¥यो भने सुकेर जान्छ । बीज नाश हुन्छ, असङ्ख्य फल लिएर बसेको बीज...उसै सुक्छ तर ढुङ्गा बनेको मानव हृदय देख्दै छ चट्टानमा उम्रिएका अनेकौँ बीज । नझाँगिए पनि उम्रिएको छ चट्टानी चिस्यानमा शतबीज । मलाई आशङ्का थियो के साँच्चै मान्छेको मुटु ढुङ्गाकै हुन्छ त ! विश्वस्त छु अहिले बरु चट्टान पग्लिएर दुप्तेश्वर बन्न सक्छ तर मान्छे कठोर भएर अन्धभक्त बन्दै जान सक्छ धर्मको नाममा जिउँदो मान्छे । मान्छे नरसाउन सक्छ तर रसाउँछ यहाँ ढुङ्गा ... । 

छक्क परेकी छु, दुप्चेश्वरको यो अक्करमा 

ढुङ्गा रसाएको आडैमा देख्दै छु 

ढुङ्गामाथि नै शतबीज उम्रिएको भेट्दै छु

उमारेर छातीमा आशाको बीज 

जीवन्त हाँसो ढुङ्गाकै सुन्दै छु 

सर्वशक्तिशाली शिव पनि 

सानन्दमा मौन नै भेट्दै छु 

शान्तिको शीतल पवनमा मक्ख परेकी म 

हृदयमा बजारिएको पेचिलो आवाजले लज्जित हुँदै छु  

सुक्खा पातले उपहास गरेको सुन्दै छु...

धर्मान्धको आँधीमा उडेको ए मुर्ख मान्छे ! 

अहङ्कारको अक्करमा, अमानुष बनेको तेरो संसार 

किन यस्तो छ ?  

धर्मको कालो झन्डा फहराउँदै 

सिङ्गो मानवताको मलामीमा 

नाङ्गो नाच नाच्दै छ ।

हेर अन्धभक्तको विमूढता

ढुङ्गा ईश्वर बन्न सक्ने सम्भावनामा 

विवेकको हत्या गरेको मान्छे भत्काउँदै छ 

मानव सभ्यता र जलाउँदै छ अर्को जिउँदो मान्छे... । 

लेख्दा लेख्दै नियात्रा कविताको भावले हृदय कोपरिन्छ ।

सुक्खा पहराबाट आशुतोषले मलाई नै नियालेको देख्छु । पहराको काप कापबाट जीवन अमृत बटुल्दै छु । हावाको सर सर चालमा अनन्त यात्राको सत्य समेट्दै छु । तादीको कल कल आवाजमा आफ्नै जीवन सङ्गीत सुन्दै छु । चट्टानी भित्तोबाट तप तप चिसो पानी रसाएको छ । टाउको अररो पारेर माथि हेर्छु सुक्खा छ ढुङ्गाको पहरा । ढुङ्गाको अस्तित्व विशाल छ । बिचबाट देख्छु चिस्यान लिएर शीतल भएको ढुङ्गोको छाती । ढुङ्गा रसाएर पग्लिएको अद्भुत रस हत्केला थापेर चाख्दै छु । साथमा हुनुहुन्छ रुवी सत्याल उहाँ पनि ढुङ्गाबाट रसाएको जल हत्केलामा थाप्दै हुनुहुन्छ । 

अचम्भका आँखाले हेर्दै छु नुवाकोटे भूमिलाई । ढुङ्गालाई बदनाम गर्ने मान्छेहरू ताँतीका ताँती ओइरिएका छौँ यो पहरोमा । साक्षात् भगवान् आशुतोषको दर्शन गर्न आएका छौँ । करुणा, दया, स्नेह, प्रेम र सुरक्षाको विशाल तृष्णा लिएर ।

हामी दुप्चेश्वर महादेवको दर्शन गर्न लामबद्ध छौँ । अगाडि सुभाष सर, पछाडि जयराम बिडारी सर र प्रतीक घिमिरे सर सपरिवार हुनुहुन्छ । लामो छ लाइन । हाम्रा साथीहरू कोही निकै अगाडि हुनुहुन्छ त कोही अलि तलै । देखिन्छ बार बाँधेको डन्डीमा घण्टीको माला । अलि माथि पुगेपछि देखिन्छ अखण्ड दीप । झलल बलेको दीप देखेर गीत गाउँछन् ओठहरू ... दीप जलोस् घर घरमा... अन्तर्हृदय आकाशमा ...यो देशमा ... सारा विश्वमा ... ।

गणेशको मन्दिरबाट शिवजीको आराधना आरम्भ भएको छ । प्रथम पूजा गणेशको गरेर हामी अगाडि बढ्दैछ ौँ । तल देखिन्छ बुद्धको सुन्दर स्थान । माथि छ दुप्चेश्वर बाबाको सुन्दर शिला । नागको फँडा फिजारिए झैँ लाग्छ ढुङ्गेनी पहराको त्यो पवित्र स्थल । जलधारीबाट झर्दो छ दुधको धारा । शिवलिङ्ग ध्यानस्थ छन् फूल, बेलपत्रमा भक्तालुको श्रद्धा । प्रार्थनामा करबद्ध गरेपछि मन शान्त भएको छ । माग्ने मन छैन केही । अदृश्य छैनन् ईश्वरका नेत्र । भुल्छु ईश्वरको सामीप्यमा आफ्नो दीनता र देख्छु आफैँलाई समृद्धशाली । मात्र शान्तिको अनुभव गर्छु तीर्थस्थलहरूमा । ईश्वरको निकटतामा सानन्द डुब्छु । 

पूजापाठ गरेर ओरालिएका छौँ हामी । आरतीको सुन्दर दृश्यले मोहित पार्दै छ । खुट्टामा दुप्चेश्वरको पवित्र कण टाँसिएको छ । सँगै हिँडेकी यात्रीले पैतालामा प्लास्टिक बाँधेर हिँडेकी छन् । धारामा गएर मिच्न थाल्छु टाँसिएका अनेकौँ कस । आरामी बनेर बसेका छौँ । शिवलाई निकट पाएर ।

खाना तयार भएको सूचनासँगै तादी तरेर गएका छौँ । मिठो खानाले तृप्त भएपछि दोस्रो चरणको कविता वाचन कार्यव्रmम हुँदै छ माथि मन्दिरको आडैमा । पुनः तरेर तादीको झोलुङ्गे पुलमा फोटोको फर्माइस हुन्छ । भरेर ग्याजेटमा दुप्चेश्वरको भूगोल धनी भएको आभास हुन्छ । कविताहरू सुन्दै र सुनाउँदै गर्दा साँझको आगमनले दिउँसो बुढो हुँदै छ । 

हतारका पाइला उठाउँदै गाडीमा आएर बसेका छौँ । सुकदेवका जोडीले किन्नु भएछ दुई झोला लप्सी । कसैले एक सयमा तीन झोला, त कसैले दुई झोला । म भनेँ कता अलमलिएँ, मेरो झोला रित्तो छ । बिहान आउँदाकै सिटमा आरामी छ, आसन । 

अहिले देखेको दृश्य बिहान हेर्न पाएकी थिइनँ । देख्दै छु तरेली परेका गरा । ‘समुद्रटार हो ऊ त्यो ठाउँको नाम ।’ यहीँका बासिन्दा सँगै हुनुहुन्छ, वासुदेव गुरागाईं सर । ढुक्क छु परिचयको भूगोल बोकेर हिँडेका पिँडालु पण्डितसँगै बस्न पाएपछि । 

बिहान लिखु तरेपछि देखेकी हुँ सुन्दर फाँट । तराईको भूगोल जस्तै लाग्यो । सिँगारिएकी दुलही जस्तै देखेँ आलुबारीको सौन्दर्य । किसानको मेहनती हातलाई गाडीबाटै सलाम गर्दै छु । कति जाँगर रोपेका होलान् यी गरा गरामा । कतिका जवानी बुढा भए होलान् यिनै खेतका आली आलीमा । कति डाक्टर, इन्जिनियर, मास्टर, वकिल भए होलान् यिनै आलुका दानामा । 

देख्छु परालको माच खेतको बिच बिचमा । कार्टुन चलचित्रको कुनै पात्र जस्तै लाग्छन् । गजधम्म परेर उभिएका माचका आकृति । सानो सानो माच कति सुन्दर देखिएको । भिमानतिर त यामानको माच देखेकी हुँ । लाग्छ यिनै माचले रुँगेर बसेका छन् आलुबारी । कल्पनामै देख्छु ती माच चलायमान भएर बारीको खबरदारी गर्दै गरेका । आपसमा संवादी बनेर गफिएका । 

कतै निकै हरिया देखिन्छन् आलुका बोट । कतै भर्खर उम्रिँदै गरेका । पर देखिन्छ खोला, जङ्गल, घरहरू । बाटो सलल बगेको छ सानो भए पनि । केराका बोट दायाँबायाँ नै रहेछन् । ह्वात्तै देखिन्छ नवीन खेती ड्रागन फ्रुटको । कति सुन्दर छ बारीको कलात्मक दृश्य । नौलो देखिन्छ खेतीको संरचना । बाँसका झ्याङ बेला बेला चियाउन आउँछन् मलाई । कानैमा आएर सोध्छन्, “अस्ति नै तैँले नै लेखेकी होइनस् नुवाकोटमा दहीको खोला ।” मुसुक्क हाँस्दै हो मा हो मिलाउँछु । गाडीमा काफलडाँडा आइपुगे छौँ । बेलैमा पुगिन्छ होला भनेर मन बडो रमाएको देख्छु । 

आरम्भ हुन्छ अन्ताक्षरी । सुकदेव सर, सुभाष सर र म गीताङ्गे बनेर बजेका छौँ हल्लिएको गाडीमा । साक्षी छन् पिँडालु पण्डित । बिहान पनि पहिलो चरणको कविता वाचन गाडीमै भएको थियो । मलाई पनि बालकृष्ण सरले केही भन्ने मौका दिनुभएको । तम्सिएर गाउन थालेकी थिएँ भक्तराज आचार्यले गाउनुभएको बडो सुमधुर भजन ...केशले नै घेरिएकी देवी गङ्गा साथमा ...तर छक्क परेँ जम्मै गीत कण्ठ थियो तर वाक्य नै फुटेन । मेरो मस्तिष्क शून्यमा पुग्यो । खाली भयो दिमाग । एक लाइन गाएपछि गीतका जम्मै शब्द बिर्सिएँ । सायद मस्तिष्कका फाइल उडेछन् । अहिले फेरि जम्मै ठाउँको ठाउँ आएर बसेका छन् । 

यो मानव मस्तिष्क पनि बडो विचित्रको छ । गीतमा झुम्दाझुम्दै सामाखुसी चोक आइपुगे छौँ । बिहान पनि शीतल दाइको उर्दीले ६ बजे नै आइपुगेका थियौँ । हाम्रो जोडी पुगेको केहीबेरमा विजया म्यामको जोडी पनि आइपुगेको थियो । जम्मा पाँच मिनेट कुर्दा गाडी आइपुग्यो । कष्ट भएन कुराइको । अब भने दुप्चेश्वरको अमीट सम्झना हृदयको कन्तुरमा लिएर आनन्दले गुर्जुधारातिर गुडेका छौँ ...।  

Author

अनिता कोइराला