विपतले विनाश गर्छ भने विनाशले सङ्कट ल्याउँछ । सङ्कटको समय लामो भए मानवीय जीवनको दुःखद अवस्थाको सामना गर्नुपर्ने हुन्छ । प्राकृतिक वा अप्राकृतिक कारणबाट विपत् आउने गरेको र कतिपय विपतको पूर्वसूचना हुने र सतर्कता अपनाउन सकिन्छ । अप्राकृतिक विपत् मानवीय कारण हुने हुँदा यसलाई न्यूनीकरण गर्न मानवीय क्रियाकलापमा विशेष ध्यान दिन आवश्यक छ । प्राकृतिक कारणबाट हुने विपत्मध्ये मनसुनजन्य विपत् पनि अग्र सूचीमा पर्छ । मौसममा हुने परिवर्तनबाट वर्षा, बाढी पहिरो, चट्याङ, हावा हुरी जस्ता घटनाले मानव जीवनमा विनाश ल्याई सङ्कट पैदा हुने हुँदा समयमै सतर्कता अपनाइ विनाशबाट जोगिनु पर्छ ।
नेपालमा जेठ महिनाको अन्त्यबाट मनसुनको सुरुवात हुने गर्छ । मनसुन सुरु भएपछि बालीनालीको उत्पादनका लागि सहजता हुन्छ भने अर्कोतिर बढी वर्षाका कारण क्षति हुने र मानवीय जीवनमा अवरोध सिर्जना भई दुःखद घटनाको सामना गर्नुपर्ने अवस्था आउँछ । मनसुनजन्य विपत्को पूर्वसूचना हुने हुँदा होसियारी अपनाउन सकिन्छ । पूर्वसूचना पाउन सकिने अवसरको उपयोग गर्न शासकीय क्षमता अभिवृद्धि गरी प्रतिकार्यको कुशल व्यवस्थापन गर्न नागरिक जागरण र परिचालनको भूमिका महत्वपूर्ण हुन्छ । मनसुनजन्य विपत्का लागि होसियारी हुन विभिन्न उपाय अपनाउन सकिन्छ ।
नागरिक सचेतना
नागरिक सचेत नहुँदासम्म विपत्को प्रतिकार्यको प्रभावकारी हँुदैन । मनसुनजन्य विपत्को प्रतिकार्य गर्न पूर्वसूचना हुने हुँदा नागरिक सूचनाको पहुँचमा रही मनसुनको अवस्था बुझ्ने र होसियारी अपनाउन ध्यान दिनु पर्छ । जिम्मेवार सार्वजनिक निकायले सञ्चार माध्यमबाट सबै नागरिकसम्म सूचना पुग्ने गरी मौसमजन्य गतिविधिको समयबद्ध सूचना दिनुपर्ने हुन्छ । सूचनाले सङ्केत गरेका जोखिमको समय र स्थानमा विशेष चनाखो हुने र धनजनको क्षति हुन नदिने भूमिका निर्वाह गरी मनसुनजन्य विपत्बाट बच्न र बचाउन सकिन्छ ।
जोखिमको रेखाङ्कन
मनसुनजन्य विपत्को जोखिम हुने स्थानको पहिचान पछि रेखाङ्कन गर्ने र उक्त क्षेत्रलाई खतरायुक्त क्षेत्रका रूपमा हेर्ने त्यहाँको बस्तीको जोखिमको गहिराइ अनुसार सतर्कता वा स्थानान्तरण गर्ने विषयमा निर्णय लिनुपर्ने हुन्छ । मनसुनजन्य जोखिमका सूचनाका आधारमा जोखिम क्षेत्रको रेखाकङ्न गरी पूर्ण सतर्क बनाउनु पर्छ । जोखिम क्षेत्रका नागरिकले बाढी पहिरो, हावा हुरी जस्ता घटनाको पूर्वजानकारी थाहा पाउनु साइरनलगायतका प्रविधिको उपयोग गरी समयमै सतर्कताबाट मनसुनजन्य विपत्को क्षति न्यून गर्न सकिन्छ । भूगोल र समयका आधारमा जोखिमको अवस्थाको आकलन गरी प्रभावित क्षेत्रमा सतर्कताका लागि समयमै जानकारी गराउने व्यवस्थाले जोखिम न्यूनीकरणमा मद्दत पु¥याउँछ ।
विपत् प्रतिकार्य योजना
विपत्को प्रतिकार्य गर्ने योजनाले विपत्लाई साँघुरो बनाई क्षति कम गर्न मद्दत गर्छ । मनसुनजन्य विपत्को प्रतिकार्य गर्न पूर्वसूचनाका कारण अलि सहज भएको मानिन्छ । मौसमको पूर्वजानकारी हुने हुँदा जोखिम हुन सक्ने अनुमान गरी उद्धारका लागि योजना बनाउनुपर्ने र सम्भाव्य जोखिमको असर हुने स्थानको पूर्वहोसियार हुन सामूहिक प्रयत्न गर्नु पर्छ । उद्धारका लागि उपयुक्त स्थान, आकस्मिक स्वास्थ्य सेवा, अति आवश्यक वस्तुको आपूर्ति एवं उद्धारका साधनको व्यवस्था र उद्धारमा संलग्न कार्य समूहको समन्वय जस्ता विषयमा स्पष्टता हुनु पर्छ । मनसुनजन्य विपत्मा सडकको सहजताका लागि पनि ध्यान दिन आवश्यक छ । उद्धारमा संलग्न जनशक्तिको क्षमता विकास र आकस्मिक कार्यको कुशल व्यवस्थापनका लागि संलग्न जनशक्तिको कार्य प्रभावकारी हुनु पर्छ । उद्धार गर्दा कमजोर अवस्था भएका वर्ग समुदायलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । मनसुनजन्य विपत्को भूगोल अनुसार प्रतिकार्य योजना बनाउन आवश्यक छ । विपत् प्रतिकार्यको स्थानीय स्वयंसेवकसमेतलाई परिचालन गरी विपत्को प्रतिकार्य गर्नु पर्छ ।
राहत र पुनस्र्थापना
विपत्मा परेका व्यक्तिको आकस्मिक स्वास्थ्य सेवासहित उद्धार र राहतको निरन्तरता पछि पुनस्र्थापन गर्ने योजनाका लागि तथ्याङ्कसहितको तयारी हुनु पर्छ । राहत सङ्कलन र वितरणका लागि एकद्वार नीति अवलम्बन गर्ने र विस्थापितको पहिचान गरी सक्षमताको अवस्था हेरी पुनस्र्थापन गर्न राज्यको सहभागिता रहनु पर्छ । विपत् व्यवस्थापनको चक्रिमा पुनस्र्थापन ओझेल परेको हो कि भन्ने अवस्था छ । पुनस्र्थापन नभई विपत् व्यवस्थापन टुङ्गिँदैन । मनसुनजन्य विपत्मा राहतपछि पुनस्र्थापनका लागि राज्यको तत्परता अनिवार्य छ । अन्य विपत्भन्दा मनसुजन्य विपत् उद्धारमा कठिन पनि हुन सक्छ । योजनाबद्ध काम गर्दा सरलीकृत गर्न सकिन्छ ।
विपत् प्रतिकारमा सरकार
मनसुनजन्य विपत्को प्रतिकार्य र व्यवस्थापन गर्न सरकार अग्र भागमा हुनु पर्छ । नागरिकको अभिभावक सरकार भएकाले आकस्मिक सेवा प्रवाहमा सरकारले प्रभावकारिता देखाई काम गर्नुपर्ने हुन्छ । मौसमको अवस्थाको पूर्वअनुमान गरी समयबद्ध सूचना अधिक जनतासम्म पु¥याउने विपत् व्यवस्थापन गर्ने निकायको सबलीकरण गरी सरोकार पक्षलाई प्रतिकार्यमा परिचालन गर्न तत्पर हुनुपर्ने, विपत् व्यवस्थापनका लागि स्रोतसाधनको पर्याप्तता र सहयोगीबिचमा समन्वय र सहकार्यता बढाई सामूहिक प्रयत्नमा जोड दिनु पर्छ । तहगत सरकारको भूमिका र स्थानीय तहको प्रभावकारिता बढाई मनसुनजन्य विपत्को प्रभाव साँघुरो बनाउन आवश्यक छ ।
विपत् व्यवस्थापनमा सहयोगी संस्था
मनसुनजन्य विपत्को प्रतिकार्य र व्यवस्थापन गर्न गैरसरकारी संस्था, सामुदायिक संस्था, क्लब, टोल सुधार समिति जस्ता संस्थागत शक्तिको अधिकतम परिचालन गरेमा मात्र बाढीपहिरो, हावाहुरी र चट्याङ जस्ता आपत्कालीन अवस्थाबाट जोगिन सकिन्छ । विभिन्न सङ्घ संस्थाको दायित्व पनि हो विपत्मा पीडितको साथमा रहनु र उद्धार गर्नु । रेडक्रिस जस्ता संस्थासँग समन्वय गरी राहत र उद्धार गर्न सहज हुन्छ । विपत्को गहिराइ हेरी अन्तर्राष्ट्रिय सहयोग आह्वान गर्नुपर्ने पनि हुन सक्छ । मनसुनजन्य विपत्मा बढी बाढीपहिरोको जोखिम हुने हुँदा बाढीपहिरोबाट जोगिन सङ्घ संस्थाले पूर्वहोसियारी हुन जागरण ल्याउने र विपत् व्यवस्थापनमा नागरिक सक्रियतासहित परिचालन गर्न आवश्यक छ ।
यो वर्ष मनसुनजन्य विपत्को प्रभावमा करिब २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । वर्षाको समय निरन्तर हुने वर्षाको कारण ढुबान, बाढीपहिरो तथा हावाहुरी जस्ता घटनाले मानवीय सङ्कट निम्तिन सक्छ । विगतका मनसुनजन्य विपत्को अनुभवलाई ध्यान दिएर समयमै सतर्कताका लागि प्रभावकारी रणनीति तय गर्नु पर्छ । मौसम पूर्वअनुमानका आधारमा मनसुनजन्य विपत्को प्रतिकार्य र व्यवस्थापनमा समयमै ध्यान दिइएन भने सङ्कटको गहिराइ बढ्दै जान्छ । विपत्बाट जनताको जीवन चर्यामा अवरोध आउने र शासकीय व्यवस्था आलोचित हुने अवस्था हुन नदिन सबैले होस पु¥याउनु पर्छ । नदी किनारमा हुने गतिविधिमा न्यूनीकरण गर्ने र जोखिम क्षेत्रको पहिचान र रेखाङ्कन गरी उक्त क्षेत्रलाई खतरायुक्त क्षेत्र घोषणा गर्ने जस्ता विषयमा विशेष ध्यान दिन सके क्षति कम गर्न सकिन्छ । पानीजन्य प्रकोपको प्रतिकूल प्रभावबाट होसियारी भई कम क्षति हुने अवस्थाका लागि सबै लाग्नु पर्छ ।