गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १९ गते । अहिले मुलुकमा सञ्चालनमा रहेका चार वटा निर्जीवन बिमा कम्पनीको जारी बिमालेख र बिमा शुल्क सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा झन्डै तीन गुणाले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म चार वटा निर्जीवन लघु बिमाले ७६ करोड ६९ लाख ५२ हजार रुपियाँ सङ्कलन गरेका छन् जुन अघिल्लो वर्षको वैशाखसम्म १९ करोड ३९ लाख रुपियाँ मात्रै थियो । चार वटा लघु बिमा कम्पनीले वैशाखसम्म तीन लाख आठ हजार ३७६ वटा बिमालेख जारी गरेका छन् । गत वर्ष त्यस्ता बिमालेख ८५ हजार ५४५ वटा मात्रै थिए । निर्जीवन लघु बिमा कम्पनीमा बिमा शुल्क सङ्कलन र जारी बिमालेख दुवैमा ट्रस्ट माइक्रो इन्स्योरेन्सको वृद्धिदर सबैभन्दा बढी देखिएको छ । गत वर्ष पाँच हजार ५९१ वटा बिमालेख जारी गरेको ट्रस्टले चालु आवको वैशाखसम्म ६१ हजार ७७९ वटा पुर्याएको छ । त्यस्तै बिमा शुल्क सङ्कलन एक करोड ३० लाख रुपियाँ रहेकामा चालु आवको वैशाखसम्म १७ करोड छ लाख रुपियाँ पुर्याएको छ ।
यस्तै वैशाखसम्म जारी बिमालेख सङ्ख्याका आधारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि देखिएको छ । माइक्रोले ८५ हजार १२१ वटा बिमालेख जारी गरी २१ करोड ५२ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ । नेपाल माइक्रोलाई पछ्याउँदै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ७८ हजार ४५४ वटा बिमालेख जारी गरी १९ करोड ७९ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ ।
त्यसै गरी स्टार माइक्रो इन्स्योरेन्सले ८३ हजार २२ बिमालेख जारी गर्दै १८ करोड ३० लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ ।
गत वैशाखको तथ्याङ्कलाई आधारमान्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सर्वाधिक नौ हजार २९७ बिमालेख जारी गर्दै दुई करोड २२ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ ।
यस्तै स्टार माइक्रो इन्स्योरेन्सले आठ हजार ६५७ बिमालेख जारी गर्दै एक करोड ९७ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्सले सात हजार ७७० बिमालेख जारी गर्दै दुई करोड १६ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्सले पाँच हजार ५५४ बिमालेख जारी गर्दै एक करोड ६५ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ ।
२०७९ मा नेपाल बिमा प्राधिकरणले नयाँ लघुबिमा कम्पनीलाई अनुमतिपत्र दिने घोषणा गरेको थियो । नेपालको ग्रामीण क्षेत्रमा बिमा सञ्जाल विस्तार गर्ने उद्देश्यसाथ यो योजना ल्याइएको थियो । लघुबिमा कम्पनी जीवन र निर्जीवन बिमा कम्पनीमा विभाजित छन् ।