दमक समाचारदाता
दमक, जेठ १९ गते । किसानले समयमा मल र बिउ नपाउँदा र उत्पादन भएको कृषि उपजको मूल्यसमेत गिरावट भएपछि आन्दोलन सुरु गरेका छन् । झापाको गौरादहका किसान हलोजुवा, कुटोकोदालो र आफ्ना उपज सडकमा तेस्र्याएर आन्दोलनमा उत्रेका हुन् ।
आइतबार विभिन्न माग राख्दै झापाको गौरादहमा कृषकले गौरादह–८, चन्दन चोकमा केही समय सडक जाम गरे । एक साताअघि पनि उनीहरूले यसरी नै सडक जाम गरेका थिए । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले किसानका समस्या नसुनेकाले ध्यानाकर्षण गराउन बन्दमा आउनु परेको किसानको भनाइ छ ।
गौरादह–८, चन्दन चोकस्थित पाडाजुँगी–गौरीगन्ज सडकखण्डमा कृषकले दुई घण्टा चक्काजाम गरेका थिए ।
जोरपल उच्च कृषक समूहक अध्यक्ष इन्द्रप्रसाद पोखरेलका अनुसार अहिले स्थानीय बजारमा सात सय रुपियाँमा समेत धान नबिक्ने अवस्था सिर्जना भएको छ ।
धान, मकैलगायत किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउने अवस्था सिर्जना गरिनुपर्ने, मल, बिउ, विषादी समयमा पाउनुपर्ने, ट्याक्टर जोताइको दररेट तोकेर कार्यान्वयन गरिनुपर्ने, कृषि सिँचाइ महसुल पूरै छुट हुनुपर्नेलगायत किसानका माग छन् ।