• २० जेठ २०८२, मङ्गलबार

कृषि तथा पशु बिमा अनुदानमा डेढ अर्ब वितरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १९ गते । सरकारले कृषि तथा पशु बिमाको प्रिमियम अनुदानबापत डेढ अर्ब रुपियाँ वितरण गरेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाली तथ पशुधन बिमाको प्रिमियममा अनुदान गराउने कार्यविधि २०८१, अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ६१ करोड ७२ लाख बिमा प्रिमियम अनुदान उपलब्ध गराएको हो । आव २०८०/८१ मा कृषि बिमा अन्तर्गत दुई अर्ब दुई करोड रुपियाँ बराबर बिमा प्रिमियम सङ्कलन भएको थियो । सङ्कलित प्रिमियममध्ये सरकारबाट बाली बिमातर्फ ३३ करोड ७९ लाख र पशुधन तथा मत्स्य बिमातर्फ एक अर्ब २७ करोड नौ लाख गरी एक अर्ब ६१ करोड ७२ लाख रुपियाँ अनुदान उपलब्ध गराइएको आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख छ ।

बाली तथ पशुधन बिमाको प्रिमियममा अनुदान गराउने कार्यविधि अनुसार ५० लाखसम्मको बिमाङ्क रकममा ८० प्रतिशत, ५० लाखदेखि एक करोडसम्मको बिमाङ्क रकममा ६५ प्रतिशत र एक करोडभन्दा बढी बिमाङ्क रकममा बिमा प्रिमियमको ५० प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तै बाली तथा पशुधन बिमा व्यवस्थापन कार्यमा विद्युतीय प्रणालीको सुरुवात भएको छ । चालु आव २०८१/८२ को फागुनसम्म ९९ हजार ७९० कृषि बिमालेख जारी भएको छ । पशुपन्छी बिमाबापत ७७ करोड ३४ लाख र बाली बिमातर्फ सात करोड ४६ लाख गरी बिमित किसानले ८४ करोड ८० लाख रुपियाँ प्राप्त गरेका छन् । सरकारले आगामी आव २०८२/८३ का लागि कृषि तथा पशुपन्छी बिमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गरी कृषि तथा पशुपन्छी बिमाको प्रिमियमको अनुदानका लागि दुई अर्ब ३० करोड रुपियाँ विनियोजन गरिएको छ ।

यसैबीच चालु आव २०८१/८२ मा सङ्घीय सरकारबाट विनियोजित ३६ अर्ब १५ करोड कृषि अनुदानमध्ये फागुनसम्म ११ अर्ब ७६ करोड रुपियाँ खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत आवमा विनियोजित ३६ अर्ब १३ करोड ८० लाखमध्ये २९ अर्ब ३१ करोड ८८ लाख रुपियाँ खर्च भएको थियो । कृषिमा वितरण गरिने अनुदानमध्ये रासायनिक मलमा सङ्घीय सरकारबाट अनुदान जाने गरेको र बाँकी अनुदान भने स्थानीय तहबाट वितरण हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।