टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), जेठ १९ गते । ७७ वर्षीय बालकृष्ण अर्याललाई सबैले गाउँभरका हेडसर भनेर चिन्छन् । बडीगाड गाउँपालिका–५, ग्वालीचौरको भानु माविमा ३३ वर्ष प्रधानाध्यापक भएर काम गरेकाले उहाँको यो पहिचान बनेको हो । तथापि विद्यालय छोडेको १६ वर्ष हुँदा पनि उहाँ हेडसर नै भनिनुहुन्छ ।
२०२३ सालमा खार प्रावि र २०३४ सालबाट २०६६ सम्म भानु माविमा अध्यापन गर्नुभएका अर्यालले अङ्ग्रेजीमा बिए, बिएड र राजनीतिशास्त्रमा एमए गर्नुभएको छ । अहिले बुढ्यौलीले दाँत झरेका र कपाल फुलेका बालकृष्णको कृषि मोह भने उदाहरणीय र लोभलाग्दो छ । सानैदेखि फलफूल खेतीमा चाहना राख्ने अर्यालको बारीमा ७५ प्रकारका फलफूल छन् ।नयाँ जातको फलफूल देख्नेबित्तिकै लगाइहाल्नुपर्ने उहाँको बानी छ । केही वर्षपहिले काठमाडौँको भाटभटेनीमा ड्र्यागन फ्रुट देखेर अर्यालले दुई वर्षअघि गुल्मीको मुसीकोट नगरपालिका–१, भ्रमचौरमा एक हजार दुई सय बोट लगाउनुभएको छ । उहाँले गत वर्ष २० क्विन्टल अर्थात् १० लाख रुपियाँ बराबरको ड्र्यागन बेचेको बताउनुभयो । अहिले ३० क्विन्टल फल्ने अपेक्षा अर्यालको छ । अर्यालले ५७ प्रकारका ड्र्यागन फ्रुट भए पनि आफूले नेपाल, भारत, अस्टे«लिया र अमेरिकाका छ प्रकारका ड्र्यागन फ्रुटको व्यावसायिक खेती गरेको बताउनुभयो । अहिले १८ हजार ड्र्यागनका बिरुवा छन् । उहाँले ५० देखि २५० रुपियाँसम्ममा बिक्री हुने भएकाले स्थानीय तहले बिरुवा विस्तारमा सहयोग गर्नुपर्ने अपेक्षा गर्नुभयो ।
बालकृष्ण अर्यालले ३८ वर्ष अध्यापनका क्रममा धेरै कुरा सिक्ने र सिकाउने काम भएकाले अब कृषिभित्रको फलफूल खेतीलाई आफूले सिकाइ केन्द्र बनाउन चाहेको बताउनुभयो । अहिले ३६ रोपनीमा आँप, क्यानडाबाट ल्याएर लगाएका ५५ बोट एभोकाडो, पाँच सय जात हुने प्यासन फ्रुट, कागती, अलैँची तथा भोगटे, भुइँकटहर, कफी, मरिच, हलुवाबेद, अङ्गुर, किबी, सिताफललगायतका फलफूल छन् । उहाँले भन्नुभयो, “मैले अनुदानको लोभका लागि नभएर सिकाइ केन्द्र बनाउन २५ लाख लगानी गरेर ड्र्यागन रोपेको छु । छोरालाई पनि गाउँमै फर्काउनु मेरो सपना हो ।”