टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), जेठ १९ गते । मालिका गाउँपालिका–६, अर्जेका भेषबहादुर विकसहित उहाँका श्रीमती, बुहारी र दुई नातिनीको त्यो रातको निद्रा नै चिर निद्रा भयो । गत वर्ष असार १५ गते राति निदाएका उनीहरू कोही पनि ब्युँझिएनन् । राति खसेको पहिरोले एकै घरका पाँच जनाले ज्यान गुमाउनु पर्यो । पहिरोको जोखिमबाट बच्न १५ वर्षअघि सजिलो ठाउँ खोजेर घर बनाएकै ठाउँमा पहिरोले परिवार सकेको भेषबहादुरका छोरा विमल परियारले बताउनुभयो ।
त्यस्तै २०७६ साउन ६ गते पहिरोमा परेर सत्यवती गाउँपालिका–४, लिम्घाको भिरकुना र वडा नम्बर ३ को लुम्पेकमा १२ जनाले ज्यान गुमाए । घरमाथिको डाँडाबाट खसेको पहिरोले मस्त निद्रामा रहेका भिरकुनाका कोही पनि ब्युँझिन पाएनन् । पहिरोले छलीदेवी विक, सिवानी विक, पम्फा विक, हेमन्त विक, निर्मला विक, सुमन विक, तारा विक, अञ्जली विकलगायतको ज्यान लग्यो ।
मुसिकोट नगरपालिका–१, थाम बिसौनामा २०६४ र २०८१ सालमा एकै ठाउँ गएका दुई पहिरोले एकै परिवारका १० जनाले ज्यान गुमाउनु पर्यो । पहिरोले घर पुरेपछि २०६४ भदौ ६ गते एकै परिवारका चोकबहादुर विक, रुन्नती विक, अमृता विक, कृष्ण विक र सुरज विकसँगै छिमेकी डल्ली विक र मुना विकले समेत ज्यान गुमाउनु पर्यो । सोही ठाउँमा गत वर्ष साउन २२ गते फेरि पहिरो गएपछि चार जनाले ज्यान गुमाए । २०६४ सालको पहिरोमा बाँचेका पनि २०८१ सालमा बँचेनन् । स्थानीय चोकबहादुर विकका अनुसार पहिरोमा हुकुमबहादुर विक, गोरे विक, मसुरी विक र रियान्स विकको ज्यान गएको थियो ।
विसं २०७८ असोज ५ मा सदरमुकाम तम्घासकै नजिक पनि पहिरोले घर पुरिँदा दलित परिवारका तीन जनाले ज्यान गुमाए । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारूले अविरल वर्षाका कारण राति १ बजे बारीको ढिस्का खसेर घरभित्र पसेपछि रेसुङ्गा नगरपालिका–८, खानीगाउँका तिलक परियारका जुम्ल्याहा छोरी १४ वर्षीय गङ्गा परियार र जमुना परियार तथा २१ वर्षीय छोरी भावना परियारले ज्यान गुमाएको जानकारी दिनुभयो ।
जिल्लाका दर्जनौँ बस्ती भौगोलिक रूपमा अप्ठ्यारो र पहिरोको जोखिममा छन् । गुल्मीको मालिका गाउँपालिका–२, दर्लिङका धनबहादुर विकले पहिरोको जोखिमका कारण घर छोडेर हिँड्नु पर्यो । उहाँले अहिले पनि बर्सात सुरु भएकाले आङमा घाम नलागेको गुनासो गर्नुभयो । मालिका गाउँपालिका–१, का कर्णबहादुर पुनको घर नजिकैबाट पहिरो गएपछि अहिलेसम्म जोखिम छ । मालिका गाउँपालिका १ र २ का करिब ४० दलित घरपरिवार पहिरोको जोखिममा छन् । यो वर्ष मौसमविद्हरूले धेरै पानी पर्ने प्रक्षेपण गरेका छन् ।
गुल्मीका १६४ स्थान बाढी र पहिरोको जोखिममा छन् । गुल्मी पहिरो र आगलागीको उच्च जोखिममा रहेको जिल्ला हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ मा उल्लेख भए अनुसार जिल्लामा ४० स्थान बाढी र १२४ स्थान पहिरोको जोखिममा छन् । बेलाबखतमा पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति भए पनि सरकारले जोखिम न्यूनीकरणका लागि ठोस योजना कार्यान्वयन गर्न सकिरहेको छैन ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्यालय प्रमुखको बैठक र विपत् व्यवस्थापन समितिको बैठकबाट प्रतिकार्य योजनाका लागि आवश्यक सूचना माग भएकाले केही समयमा तयार गरेर कार्यान्वयन गरिने बताउनुभयो ।