कुलबहादुर शाही
जाजरकोट, जेठ १८ गते । जाजरकोटको बारेकोट गाउँपालिकामा सडकबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका –८ बन्डलाका अन्दाजी ३५ वर्षीय लालबहादुर सिंह रहेको प्रहरीले जनाएको छ । शनिबार कोलेनीबाट बुवाको घरदेखि आफ्नो घरतर्फ हिँडेका सिंह घर नपुगेपछि आफन्तहरूले खोजतलास गरेका थिए।
खोजी गर्ने क्रममा आइतबार साँझ साढे ७ बजेतिर स्थानीयहरूले सिंहको शव लामीद्वाला भन्ने स्थानमा सडकबाट करिब ४ सय मिटर तल खसेको अवस्थामा फेला पारेका थिए। घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी सक्लाबाट प्रहरी सहायक निरीक्षक मोहनसिंह पुजाराको नेतृत्वमा तीन जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थलमा खटिएको प्रहरी टोलीले उहाँको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याएको जनाएको छ ।