• २० जेठ २०८२, मङ्गलबार

बागलुङको पहिचान बन्दै ‘हनुमान नाच’

blog

पश्चिम बागलुङको गलकोटमा प्रदर्शन गरिएको लापोन्मुख हनुमान नाच । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, जेठ १८ गते । कला संस्कृतिमा धनी बागलुङ । बागलुङ जिल्लामा कलाकारहरूको खानी मानिने गलकोट क्षेत्रमा पहिलोपटक ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको हनुमान नाच प्रदर्शन गरिएकाे छ । 

झण्डै २ सय ८० वर्ष पहिलेदेखि बागलुङका नेवार समुदायले हनुमान नाच संरक्षण गरेर राखेका छन् । नेवार समुदाय रहेको गलकोट क्षेत्रमा पनि संरक्षित हनुमान नाचको प्रचारप्रसार थालिएको हो । 

एक वर्ष बिराएर भदौ तेस्रो साता सुरु गरेर ६ देखि ८ महिनासम्म सञ्चालन गरिने हनुमान नाच बागलुङमा मात्र संरक्षण भएको स्थानीय नेवारहरू दाबी गर्छन् । नौ वर्षदेखि रोकिएको नाच गत असोज ९ देखि पुनः नाच्न सुरु गरिएको हो । 

कम्तिमा १३ जोडी र बढीमा १५ जोडी हनुमान बनेर बागलुङ बजार नजिकैको छहरा पधेंराबाट थालनी गरिने यो नाच बागलुङको पहिचान हो । ‘‘अष्टचिरञ्जिवीको रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास छ’’ पूर्व प्राज्ञ प्रेम छोटाले भन्नुभयो, ‘‘२ सय ८० वर्षअघि भक्तपुरमा मनाइने यो नाच अहिले त्यहाँ लोप भयो, बागलुङमा मात्रै संरक्षण गरिएको छ ।’’ 

रामका सेवक भएकोले हनुमान नाच देखाउँदा धर्म मिल्ने, हनुमानको झै शक्ति मिल्ने, समाजमा वीर व्यक्तिको संज्ञा पाउने र काम गर्ने जाँगर पलाउने विश्वास गरिन्छ ।

केही वर्षदेखि स्थानीय मेला र महोत्सवमा हनुमान नाच प्रदर्शन गरिन थालिएको छ । यो नाचले युवाहरूलाई ब्रम्हचर्यमा रहन पनि सिकाउने छोटा बताउनुहुन्छ । १६ वर्षदेखि ४० वर्षका युवालाई हनुमान बनाइने र बन्नुपूर्व साता दिनसम्म युवाहरूले ब्रम्हचर्यमा बस्नुपर्छ । रामायणको कथामा आधारित नाँच भएकोले हिन्दुधर्म मान्ने सबैले संस्कृति संरक्षणमा भाग लिने गरेको संस्कृतिविद् छोटाको भनाइ छ।

हनुमान नाच संरक्षणका लागि २०४६ सालदेखि हनुमान नाच संरक्षण परिषद गठन गरिएको छ । लोपोन्मुख संस्कृति र निकै खर्चिलो हुने नाचको संरक्षण गर्न सामूहिक प्रयासको खाँचो रहेको परिषदका अध्यक्ष परशुराम श्रेष्ठ बताउनुहुन्छ । 

ध्योला तालमा नाच्नका लागि मृदङ्गा बाजा, धिमे र झ्याली बजाउनका लागि कलाकारहरू आवश्यक पर्छ । त्यस्ता कलाकारलाई अगुवाइ गर्ने प्रधान कजी रहने व्यवस्था छ । मुख्य सञ्चालकको रूपमा चिनिने प्रधान कजीले नाचको संयोजन गर्छन् । नाचमा भजन मण्डलीको व्यवस्था गर्न अन्य सहायक कजीको पनि व्यवस्था गरिनुपर्छ । ‘‘एकैपटकमा ५० देखि ६० जना युवा जुटेपछि मात्र हनुमान नाच देखाउन सकिन्छ,’’ श्रेष्ठले भन्नुभयो । 

हनुमान नाच कसले किन सुरु गर्‍याे भन्ने यकिन नभए पनि भक्तपुरबाट बसाइ सरेर नेवारहरू बागलुङ आएको प्रमाणको आधारमा संस्कृति पनि सरेर आएका विश्वास गरिन्छ । 

हनुमान नाच केवल एक नाच मात्र नभई ऐतिहासिक, धार्मिक र सांस्कृतिक जीवनशैलीको एक अभिन्न अङ्ग भएको नाच अवलोकनपछि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले प्रतिक्रिया दिनुभयो । ‘‘यो नाचले हाम्रो धर्म र संस्कृतिप्रतिको सम्मान बढाउने र नयाँ पुस्तामा मौलिक पहिचानको बोध गराउने काम गरेको छ,’’ गैरेले भन्नुभयो ।

नेवा खल गलकोटका अध्यक्ष प्रनाथ श्रेष्ठले हनुमान नाच सांस्कृतिक सम्पदा भएकोले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । बागलुङ बजारमा सिमि तबनेको हनुमान नाचलाई गलकोटमा पनि पुर्नजीवित गरिने श्रेष्ठको भनाइ छ । लोमोन्मुख संस्कृति जोगाउन युवापुस्तामा रुचि जगाउनुपर्ने श्रेष्ठ आवश्यकता औँल्याउनुहुन्छ ।