मोहनसिंह बुढा
हुम्ला, (अदानचुली) जेष्ठ १८ गते । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सडक खण्ड स्तरोन्नति कार्यका कारण केही दिनका लागि सो क्षेत्रमा सवारी आवागमनको व्यवस्थापन मिलाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार हुम्लाको बोक्चेगौडा, भिइगौडा र याङ्चु भिर क्षेत्रमा जेठ २४ देखि २७ गतेसम्म सडक खुला राखिने छ । चैत्र १५ देखि बन्द गरिएको सडकमा नागरिकलाई दैनिक उपभोग्य सामग्री आपूर्ति गर्न र आर्थिक वर्षको अन्त्यसम्म निर्माण कार्य सहज बनाउन चार दिनका लागि सडक सञ्चालन गर्ने निर्णय गरिएको चन्दले बताउनुभयो ।
यस्तै, कालीकोटस्थित खुलालु–लालीघाट सडक खण्ड भने जेठ २० देखि २४ गतेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ । आरसीसी ढलानको कार्य गर्नुपर्ने भएकाले उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनुभयो ।
यस अवधिमा उत्तरतर्फ बाजुरा, हुम्ला, मुगुबाट आउने सवारीलाई लालीघाटसम्म र दक्षिणतर्फ सुर्खेत, दैलेख, अछामबाट आउने सवारीलाई कालेखोलासम्म मात्र आवागमनको अनुमति दिइने छ । दुवै खण्ड एकै पटक खोल्ने वा बन्द गर्ने समन्वय नभएको प्रति अदानचुली गाउँपालिका–५ का वडाध्यक्ष कमल बहादुर छन्त्यालले गुनासो गर्नुभयो ।