सन्तोषी रावल
बाजुरा, जेठ १८ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को समयमा त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालय दम्था मतदान केन्द्रमा भएको घटनामा सहादत प्राप्त गरेका नेकपा (एमाले) का विद्यार्थी नेता चेतनदीप ऐडीको स्मृतिमा ‘चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्ति’ को स्थापना गरिएको छ ।
नेकपा एमाले बाजुरा जिल्ला कमिटीका अध्यक्ष लालबहादुर ओलीका अनुसार सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका र उत्कृष्ट अङ्क ल्याउने बाजुराका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति सुरु गरिएको हो । यो छात्रवृत्ति कार्यक्रम ऐडीको योगदान र बलिदानको सम्मानमा स्थापित गरिएको र जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको अध्यक्षले बताउनुभयो ।
कार्यक्रमअन्तर्गत प्रारम्भिक रूपमा एक लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । कोषको व्याजबाट प्रत्येक वर्ष एक जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । कोष पाँच लाख पुगेमा पाँच जना र दश लाख पुगेमा दश जना विद्यार्थीलाई छात्रवृत्ति दिइने लक्ष्य राखिएको छ ।
२०७९ को निर्वाचनमा सहादत प्राप्त गरेका चेतनदीप ऐडीको स्मृतिमा २०८२ जेठ १ गते सम्पन्न एमाले बाजुराको आठौं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकमा पहिलोपटक छात्रवृत्ति वितरण गरिएको हो । उक्त अवसरमा जनप्रकाश माध्यमिक विद्यालय, कोल्टीका विद्यार्थी हेमबहादुर सहानीलाई उत्कृष्ट अङ्क ल्याएको आधारमा छात्रवृत्ति प्रदान गरिएको हाे ।
छात्रवृत्ति वितरण एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषदको वार्षिक बैठक वा जिल्ला अधिवेशनका अवसरमा गरिनेछ । योग्य विद्यार्थीको विवरण राष्ट्रिय परीक्षा बोर्डमार्फत सङ्कलन गरिने र छात्रवृत्तिसँगै नगद पुरस्कार र प्रमाण–पत्र पनि प्रदान गरिने छ ।
छात्रवृत्तिका लागि कोष विस्तार गर्न पार्टीले आर्थिक सहयोगका लागि सबैमा अपील गरेको छ। एक लाख वा सोभन्दा बढी रकम सहयोग गर्ने दाताहरूको नाम छात्रवृत्ति स्पोन्सरको रूपमा प्रमाण–पत्रमा उल्लेख गरिनेछ भने सोभन्दा कम सहयोगकर्तालाई पार्टीको अधिवेशन वा प्रतिनिधि परिषद्को बैठकमा सम्मान–पत्र प्रदान गरिनेछ ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ४०७०१००००१२१७००१ मा रकम जम्मा गरी, जम्मा गरेको भौचर वा स्लिप ९८५८४२१७८३ मा ह्वाट्सएपमार्फत पठाउन अनुरोध पनि गरिएको छ ।