• २० जेठ २०८२, मङ्गलबार

प्रदेश अस्पताल पचास शय्यामा स्तरोन्नति गरिँदै

blog

दमौली अस्पताल । फाइल तस्बिर ।

दमौली (तनहुँ), जेठ १८ गते । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । 

हाल दमौली अस्पताल १५ शय्यामा सञ्चालन भइरहेकामा सरकारले स्तरोन्नति गर्ने निर्णय गरेसँगै सोहीअनुसार दरबन्दी थप हुने अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार १५ शय्या स्वीकृतिको अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ । 

अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको डा बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेको जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।” 

उहाँका अनुसार अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । विशेषत्र चिकित्सक ३१, नर्स ३६, प्रयोगशालाका कर्मचारी छ, प्रशासनका कर्मचारी सात, १३ जना अन्य प्रविधिक र २२ जना सहायक सेवामा कार्यरत रहेका उहाँले जानकारी दिनुभयो ।

अस्पतालले गत आर्थिक वर्षमा ९८ हजार ३५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा. बरालले बताउनुभयो । विसं २०३४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भई विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । 

अस्पतालमा फोहाेरपानी र फोहरमैला व्यवस्थापनका लागि ‘अटोक्लेप्स’सहित भवन निर्माण, आँखासम्बन्धी सेवा सञ्चालन, अत्यधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब, डिजिटल एक्सरे, निःशुल्क औषधी कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएको दुई वटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । रासस