• २० जेठ २०८२, मङ्गलबार

पर्यटकीय गन्तव्य मालारानी गुफा

blog

गुर्भाकोट नगरपालिका २ मालारानीमा रहेको मालारानी गुफा । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, जेठ १८ गते । पूर्वी सुर्खेतको गुर्भाकोटमा रहेको मालारानी गुफा हेर्ने पर्यटकको भिड बढ्दै गएको छ । गुफामा पर्यटकहरु आवतजावत, गुफा प्रेवशद्वार, सिडिहरु, प्रतिक्षालय, सडक, बाटो लगायत आवश्यक संरचना तयार भएपछि गुफा घुम्न जाने पर्यटकहरू बढ्न थालेका हुन् । 

पछिल्लो समयमा मालारानी गुफाको आकर्षण बढ्दो छ । गुफाभित्र उज्यालोको लागि बत्तीको र अवलोकनका लागि सिंढीहरू, मूर्तिको सजावट , निर्माण र बाहिर शिवको मन्दिर र गुफाबाहिर मनमोहक दृश्य अवलोकन गर्न मानिसहरू निकै खुसी हुनेगरेका छन् । मालारानी गुफाको अवलोकनका लागि अहिले पनि मानिसहरू विभिन्न जिल्लाबाट आउने गरेको गुफा हेरालु अमृत डाँगीले बताउनुभयो । 

दैनिक १०० देखि एक हजारसम्मले गुफा अवलोकन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । विद्यालय, विभिन्न सङ्घ संस्थाहरूबाट ठुलो सङ्ख्यामा अध्ययन अवलोकनका लागि त्यहाँ पुग्ने गरेको डाँगीको भनाइ छ । उहाँका अनुसार प्रतिव्यक्ति २० रुपियाँ प्रवेश शूल्क निर्धारण गरिएको छ । अहिले पर्यटकहरूको हब बनिरहेको मालारानी गुफाको आकर्षण बढाउन विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको गुर्भाकोट नगरपालिकाले जनाएको छ । 

गुफासम्म पुग्नका लागि सडक निर्माणको काम भइरहेको नगर प्रमुख हस्त पुनले बताउनुभयो । प्रचुर पर्यटकीय सम्भावना बोकेको गुफाका लागि तीनतहकै सरकारको लगानीमा पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । धार्मिक र ऐतिहासिक महत्त्व मात्र नभई यो गुफा कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको रूपमा छ । 

कर्णाली प्रदेश राजधानी नजिकै रहेको पर्यटकीय मालारानी गुफाको संरक्षणका लागि गुर्भाकोट नगरपालिका, कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारले पूर्वाधार निर्माणको काम गरिरहेका छन् । २०७९ मा नगरपालिकाले डीपीआर निर्माण गरेर पूर्वाधार निर्माणको काम गरिरहेको छ । गुफासम्म पुग्ने सडक स्तराेन्नतिका लागि एक करोड २० लाखमा ठेक्का सम्झौता भइ काम भइरहेको पुनले बताउनुभयो । 

अहिलेसम्म तीनतहकै सरकारको दुई करोड लगानीमा गुफा प्रेवशद्वार, सिढीहरू, प्रतिक्षालय, सडकबाटो, विद्युत्, मन्दिर निर्माण लगाएतका काम भएका छन् । सडक निर्माण लगाएतका थप पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारसँग बजेट माग गरिएको नगर प्रमुख पुनले जानकारी दिनुभयो ।

गोठालाले फेला परेको गुफा

गुर्भाकोटमा रहेको मालारानी गुफा यति बेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ । नगरपालिकाको २ मालारानीमा रहेको मालारानी गुफा निकै रमणीय देखिन्छ । २०७६ सालमा गोठालाले पहिलोपटक उक्त गुफा भेटेका थिए । बाख्रा एकाएक पहरा (चट्टान) को बिचमा रहेको सानो प्वालबाट भित्र पसेका थिए ।

बाख्रा पहराभित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लागेको वडा नंं २ वडाध्यक्ष नोखबहादुर वलीले बताउनुभयो  । त्यतिबेलादेखि नै मालारानी गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्थे । पछिल्लो समय बाह्य पर्यटक आउन थालेका छन् । हालसम्म भारत र बेलायतका नागरिक गुफा हेर्न आएको वलीको भनाइ छ । १५० मिटर लम्बाइ र करिब २५० मिटर चौडा भूभागमा गुफा फैलिएको अनुमान गरिएको छ । 

मालारानी गुफा बाहिरको प्राकृतिक सुन्दरताले गुफाको थप सौन्दर्य बढाएको छ । गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई त्यहाँको इतिहास तथा धार्मिक महत्त्वबारे जानकारी गराउने चलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिले एकपटक हरेक नागरिकको ध्यान तान्छ । स्थानीय व्यक्तिको जग्गामा गुफा रहेको छ । गुफा हेरालु समेत रहेका अमृत डाँगीको तीन रोपनी तथा अन्य क्षेत्रमा गुफा फैलिएको छ । यतिनै क्षेत्रमा फैलिएको छ भन्ने यकिन विवरण भने तयार भइसकेको छैन ।