गोकर्ण पौडेल
तुलसीपुर, जेठ १८ गते । दाङ जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ । राष्ट्रपति रनिङ शिल्ड २०८१ को जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तुलसीपुरले हासिल गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डी रङ्गशालामा जेठ १५ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा विभिन्न १० स्थानीय तहका खेलाडीहरूले भाग लिएका थिए । तुलसीपुरले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको हो । मेडल तालिकामा तुलसीपुरले ३२ स्वर्ण, २२ रजत र २२ कास्य गरी जम्मा ७६ पदक जित्न सफल भयो ।
गत वर्षको रनिङ बिजेता घोराही उपमहानगरपालिका दोस्रो स्थान हासिल गरेको छ । पालिकाले २० स्वर्ण, १६ रजत र १६ कास्यसहित ५२ पदक प्राप्त गर्यो । त्यस्तै, तेस्रो स्थानमा शान्तिनगर गाउँपालिकाले ५ स्वर्ण, ६ रजत र १४ कास्य गरी २५ पदक हात पा¥यो ।
प्रतियोगितामा राप्ती गाउँपालिकाले ३ स्वर्ण, १० रजत र ८ कास्यसहित २१ पदक, गढवा गाउँपालिकाले २ स्वर्ण, ४ रजत र १० कास्य गरी १६ पदक प्राप्त गर्यो । छैटौँ बंगलाचुली गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ३ कास्यसहित ८ पदक, बबई गाउँपालिकाले १ स्वर्ण, ३ कास्य गरी ४ पदक, राजपुर गाउँपालिकाले १ स्वर्ण, १ रजतसहित २ पदक, दंगीशरण गाउँपालिकाले ३ कास्य गरी ३ पदक र लमही नगरपालिकाले ३ रजत र १२ कास्यसहित १५ पदक हात पारेको छ।प्रतियोगितामा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान गरिएको छ ।
दाङ जिल्ला खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा एवम् लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतम विशिष्ट आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको हो ।