स्याङ्जा समाचारदाता
स्याङ्जा, जेठ १८ गते । स्याङ्जाको कालीगण्डकीस्थित कारिकोट र गुल्मीको रुरु गाउँपालिका जोड्ने कालीगण्डकी पक्की स्टिल ट्रस पुलको १३ वर्षमा बल्ल आधा काम सकिएको छ ।
तीन वर्षमा सक्ने गरेर २०६९ असार २५ गते स्वछन्द निर्माण सेवा काठमाडौँले सडक डिभिजन कार्यालय पाल्पासँग सम्झौता गरेर काम अगाडि बढाइएको थियो तर हालसम्म ५० प्रतिशत काम सकिएको छ । ठेकेदार कम्पनीले सो पुल १८ करोड ३२ लाख ४० हजार ६२६ रुपियाँ ८५ पैसामा निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।
डिजाइन ढिला आउनु, डिजाइन अनुसार काम गर्न नसक्नु र आर्थिक अभावले पुल १३ वर्षसम्म नसकिएको ठेकेदार कम्पनीले दाबी गरेको छ । दुई स्पानमा १५० मिटर लम्बाइ रहेको पुलको सम्झौता अनुसार काम सक्ने समय सकिँदा बल्ल नक्सा बनेको थियो ।
सम्झौताको तीन वर्षमा वेल फाउन्डेसनको डिजाइन आएकोमा काम थालेकै छ महिनामै पुलको बिचको पिल्लर जमिनमुनि दबिएपछि निर्माण रोकिएको ठेकेदार कम्पनीका इन्जिनियर बलराम पन्थीले बताउनुभो । दुईतर्फका पिल्लर बनेपश्चात् बिचको पिल्लर बनाउन थालेको बताउँदै पन्थीले साढे चार मिटरमा काठ भेटिएको र गोताखोरमार्फत जमिन खन्नु परेको उहाँले बताउनुभयो ।
११ वर्षसम्म १० प्रतिशत मात्र काम गरेर अलपत्र परेको सो पुललाई ठेकेदारको माग अनुसार सडक विभागको पुल महाशाखाले २०८० जेठ २९ गते डिजाइन परिवर्तनका लागि स्वीकृति दिएको थियो । डिजाइन परिवर्तनको एक वर्षमा भेरियसन स्वीकृत गरेसँगै निर्माण कम्पनीले काम थालेको थियो । गत फागुन १५ गते आगामी २०८३ जेठ १५ गतेसम्म सक्ने गरेर पुलको पाँचौँ पटक म्याद थपिएको बताउँदै इन्जिनियर निशा बेलबासेले रोकिएको पुलको भैतिक प्रगति ५० प्रतिशत मात्र भएको बताउनुभयो ।
डिजाइन परिवर्तनसँगै बिचको पिल्लर पायल फाउन्डेसनमा २४ मिटर खनेर १२ वटा पायल हालेर बनाइएको छ । आर्थिक प्रगति २२ प्रतिशत अर्थात् चार करोड ९१ लाख ४८ हजार ६१२ रुपियाँ भएको बताउँदै बेलबासेले पहिलो स्पानका लागि स्टिल ट्रस अर्डर गरेर निर्माणसमेत भएको बताउनुभयो ।