• १९ जेठ २०८२, सोमबार

पहिरोले क्षति पुर्‍याएकोे तील गाउँँको खानेपानी निर्माण सुरु

blog

तील गाउँमा खानेपानीको व्यवस्था गर्न पाइप लाइन खन्दै स्थानीयवासी । तस्बिर : सौजन्य सागर लामा

राजन रावत 
हुम्ला, जेठ १८ गते ।
पहिरोले क्षति पुर्‍याएको नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमीको तील गाउँको खानेपानी योजनाको निर्माण कार्य सुरु भएको छ । यही जेठ १ गते राति गएको पहिरोले सो खानेपानी योजनामा क्षति पुर्‍याएको थियो ।

पहिरोले क्षति पुर्‍याएको उक्त खानेपानी पाइप लाइनका लागि सदरमुकाम सिमकोटबाट पाइप ल्याइएपछि स्थानीयले तत्काल काम चलाउन खानेपानी योजनाको निर्माण सुरु गरेको हो ।

गाउँका वडा सदस्य तेम्वा तुन्डुप लामाले यसअघि पहिरोले क्षति पुर्‍याएको खानेपानीको पाइप लाइन खन्ने कार्य सुरु भएको बताउनुभयो । यसका लागि खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयबाट एक हजार आठ सय मिटर पाइप उपलब्ध भएको थियो । पाइप गाउँमा पुगेपछि पाइप राख्ने कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । पाइप लाइन राख्ने कार्य पूरा हुनासाथ इन्टेक निर्माण गर्ने र खानेपानी सुचारु गरिने उहाँले बताउनुभयो ।

वडा अध्यक्ष पाल्जोर तामाङले अबको तीन दिनमा पाइपलइन खन्ने कार्य, सानो इन्टेक निर्माण गर्ने कार्य सम्पन्न हुने र त्यसलगत्तै गाउँमा खानेपानीको व्यवस्था हुने बताउनुभयो । यही जेठ १ गतेदेखि तील गाउँवासीले खोलाको धमिलो पानी प्रयोग गरिरहेका छन् । हाल उक्त गाउँमा २२ घरधुरीका पचास जना बसोवास गर्दै आएका छन् ।