• १९ जेठ २०८२, सोमबार

हराउँदै हलगोरु पाल्ने प्रचलन

blog

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा हलगोरु जोतेर मकै रोप्दै गरेका किसान । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता 

सर्लाही, जेठ १८ गते  । मधेशका जिल्लामा हलगोरु पालेर खेती लगाउने प्रचलन हराउँदै गएको छ । खेतबारी खनजोतका लागि सहज रूपमा ट्याक्टर उपलब्ध हुन थालेसँगै गोरु पाल्ने प्रचलन लोप हुने अवस्थामा पुगेको हो । हिजोआज गाउँघरमा गोरु पाल्ने किसान भेट्न मुस्किल नै पर्छ । खेतबारीको बाँझो जोत्न र बाली लगाउन तराईको फाँटमा जताततै ट्याक्टरकै प्रयोग हुन थालेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका जगतलाल यादवले गाउँमा अहिले एक/दुई हलगोरु मात्रै रहेको बताउनुुभयो । 

आफू ६० वर्ष पुग्दा पनि हलगोरु पालेर जोतिरहेको यादवको भनाइ छ । पहिला प्रत्येक घरमा गोरु पाल्ने गरिएकोमा अहिले ट्याक्टर लगाएर खेतबारी खनजोत हुन थालेपछि गोरु पाल्न छाडिएको यादवले जानकारी दिनुुभयो । 

यादवले भन्नुुभयो, “पहिला सबैले गोरु पालेरै जोत्थे तर अब त मान्छेले गोरु पाल्नै छाडे । गाउँघरमा अहिले एक÷दुई हल मात्रै गोरु छन् ।” मकै रोप्ने र जोत्ने बेला एक बिहानको एक हजार पाँच सय रुपियाँमा हल गोरु लगेर जोत्दै आएको यादवको भनाइ छ । गोरु पाल्ने प्रचलन हराउँदै गएपछि गाउँघरमा हलो, जुवा बनाउने मानिसको पेसासमेत सङ्कटमा परेको छ । चुरेक्षेत्रस्थित महोत्तरीको बर्दीबास नगरपालिका–११, खयरमाराका वुद्धिमान विश्वकर्माले खेतबारी जोत्न सहज रूपमा ट्याक्टर पाइन थालेपछि दुई वर्षदेखि गोरु पाल्न छाडेको बताउनुुभयो । 

पाखाबारी र फेदीको खेत ट्याक्टरले जोत्न थालेपछि गोरु बेचेको विश्वकर्माको भनाइ छ । गाउँघरबाट युवापुस्ता वैदेशिक रोजगारीमा पलाएन हुने क्रम बढेसँगै हलगोरु पालेर खेती लगाउने प्रचलन पनि हराउँदै गएको ६३ वर्षीय विश्वकर्माले बताउनुुभयो । विश्वकर्माले भन्नुुभयो, “अब सबै सुखसँग बस्ने भए, गोरु पाल्ने मान्छे गाउँघरमा भेट्नै मुस्किल छ । छोराबुहारी सहर र विदेशतिर पसेकाले गाउँघरमा घाँस काट्ने, गोरु जोत्ने मान्छे पनि छैनन् ।” गोरुभन्दा ट्याक्टरबाट जोत्दा सहज र छिटो हुने किसानको भनाइ छ । 

ट्याक्टरको तुलनामा हलगोरुबाट जोतेर गरिएको खेती राम्रो हुने किसान बताउँछन् । अर्का किसान राजदेव यादवले भन्नुुभयो, “छिटो हुन्छ भन्ने मात्रै हो तर ट्याक्टरबाट गरिएको खेती आधिसरो बाँझै बस्छ । अहिलेका युवा गाउँघरमा बसेर हलगोरु पाल्न इच्छा गर्दैनन् ।” हलगोरु पाल्ने प्रचलन हराउँदै गएसँगै गीत गाउँदै मकै रोप्ने, गोरुका विभिन्न नाम राखेर खेतबारी जोत्ने जस्ता पुराना संस्कृति पनि मासिँदै गएको छ । 

कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा ९९ प्रतिशत किसानले खेतबारी ट्याक्टरले जोतेर खेती गर्ने गरेका छन् । कार्यालयका प्रमुख कमलदेवप्रसाद कुशवाहाले खेतीपातीका लागि आधुनिक औजार, उपकरण र प्रशस्त मात्रामा ट्याक्टर भित्रिएसँगै हलगोरु पालेर खेती गर्ने किसान निकै कम रहेको जानकारी दिनुुभयो । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कुशवाहाले भन्नुुभयो, “अब गोरु पालेर दुःख गर्ने किसानभन्दा पनि ट्याक्टर लगाएर खेती गर्ने किसान अधिक छन् । हाम्रो जिल्लामा त झन् गोरु नै पालेर खेती गर्ने किसान धेरै कम हुनुहुन्छ ।” 

ट्याक्टर पुग्न नसक्ने चुरेडाँडाका केही किसानले मात्रै गोरु नारेर पाखो भित्ता बारीमा खेती लगाउने गरेका छन् । गोरु पाल्ने प्रचलन हराएसँगै यहाँको बयलबास र बरहथवास्थित गोरु बजारमा गोरुको किनबेचसमेत न्यून मात्रामा हुने गरेको व्यापारीले बताएका छन् ।