चित्र मिजार
सिन्धुपाल्चोक, जेठ १८ गते । सिन्धुपाल्चोककै सबैभन्दा ठुलो मध्यभोटेकोशी जलविद्युत् आयोजनाले तेस्रो पटक सुरुङ परीक्षण सकेर जेठलगत्तै विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।
विद्युत् उत्पादनका लागि विसं २०८० पुस र २०८१ कात्तिकमा उक्त आयोजनाले सुरुङमा पानी पठाएर परीक्षण गर्दा दुवै पटक पानी चुहिएपछि अहिले ‘रेट्रोफिट’ गरेर सुरुङ टालिएको हो । उक्त आयोजनाले ‘रेट्रोफिट’ को काम सकेपछि अन्तिम चरण पुगेको जनाएको छ । बाँकी प्रसारण लाइनको काम छिट्टै सकिने जनाएको छ । ती कार्य सकिनेबित्तिकै जेठपछि विद्युत् उत्पादन गर्ने तयारी थालिएको आयोजना प्रमुख रामगोपाल शिवाकोटीले जानकारी दिनुभयो ।
विसं २०८० पुसमा परीक्षण गर्दा पानी चुहिएपछि नौ महिना लगाएर सुरुङ टालिएको थियो । २०८१ मा पुनः परीक्षण गर्दा पनि पानी चुहिएपछि अहिले सुरुङको ‘रेट्रोफिट’ गरिएको हो । अब पानी पठाएर सुरुङको तेस्रो पटक परीक्षण गर्न लागिएको हो । आयोजनाको ‘बोर्डरल्यान्ड’ स्थित सुरुङबाट पानी चुहिएको थियो ।
विसं २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता गरेर आयोजना निर्माणको काम सुरु गरेयता १२ वर्ष लागिसकेको छ । गुणस्तरहीन सुरुङ निर्माणले आयोजना झनै विवादमा परेको छ । पिपिए भएको १४ वर्षसम्म आयोजना पूरा हुन सकेको छैन । सम्झौता अनुसार २०७४ सालमै आयोजना निर्माण पूरा भई विद्युत् उत्पादन हुनु पथ्र्यो तर २०७२ सालको भूकम्प, कोरोना महामारी, नाकाबन्दी, बाढीपहिरो, स्थानीयको अवरोधलगायतका विभिन्न बहानामा आयोजना निर्माणको काम पछि धकेलिँदै आएको थियो ।
जम्मा १२ अर्ब २८ करोड रुपियाँको लागतमा आयोजना पूरा हुने लक्ष्य राखिएकामा ढिलाइ हुँदा लागत बढेर २० अर्ब रुपियाँ पुगेको छ । ‘वेस्ट टेस्टिङ’ र परीक्षण उत्पादन गरी २०७९ चैतबाट व्यावसायिक उत्पादन गर्ने योजना थियो । आयोजनाको गुणस्तरमा ध्यान नदिएका कारण ‘वेस्ट टेस्टिङ’ गर्दा सुरुङबाट पानी चुहिएको थियो । सुरुङबाट के कारणले पानी चुहिएको भन्ने अध्ययन गर्न प्राविधिकलाई तीन महिनाभन्दा बढी समय लागेको थियो ।
मध्यभोटेकोशीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको एक प्रतिशत, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, सिन्धु भोटेकोशी हाइड्रोपावरको एक÷एक प्रतिशत संस्थापक सेयर रहेको छ । ४९ प्रतिशत साधारण सेयरधनीमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५ प्रतिशत, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको ३.५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोकवासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर रहेको छ । उत्पादन सुरु भएपछि सो आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँदमा ८.४० र वर्षायाममा ४.८० रुपियाँमा खरिद गर्ने सम्झौतामा उल्लेख छ । यसबाट वार्षिक दुई अर्ब ८० करोड रुपियाँ आम्दानी हुने जनाइएको छ ।