शङ्कर केसी
शारदा (सल्यान), जेठ १८ गते । अनियमित वर्षा र तापमानमा वृद्धिलगायतका जलवायु परिवर्तनका कारणले गर्दा सल्यानलगायतका पहाडी क्षेत्रमा माथिल्लो भागबाट भलबाढी बगेर किसानको खेतबारीमा क्षति पुर्याउने जस्ता समस्या देखिएका छन् । माथिल्लो भेगबाट बगेर आउने पानी तल्लो भेगमा कृषिकर्ममा प्रयोग हुने भए पनि उच्च वर्षाको समयमा पानीको बहाब धेरै हुने भएकाले भेलसँगै आउने बालुवा, ढुङ्गा र पातपतिङ्गरले पुर्याउने हानि रोक्न उपायको खोजी गरिएको छ ।
बगेर आएका अनावश्यक सामग्रीले खेतबारी पुरिने वा कृषि बाली बिगार्ने मात्र नभई पानीको बहाबले माटो बगाउने, माटोले पानी सोस्न नसकेर माटोको चिस्यान घट्ने समस्या सिर्जना भएका छन् । यस किसिमको समस्याबाट गुज्रिरहेका सल्यानका किसानका बाली जोगाउन छेकाबाँध (फिल्टरिङ ड्याम) निर्माणमा जोड दिइएको छ ।
जलवायु परिवर्तनको बढी असर देखापरेका कुमाख गाउँपालिका र वनगाड कुपिन्डे नगरपालिकाका विभिन्न क्षेत्रमा निर्माण गरिएका ससाना छेकाबाँधको प्रभाव सकारात्मक देखिएको छ । कुमाख गाउँपालिका–२, रुमालगाउँका रुद्रबहादुर शाहीले भूक्षय तथा साना पहिरो रोकथाम गर्न र खेतबारीको संरक्षणका लागि आफ्नो वडाका विभिन्न खोल्सीमा गरिएको छेकाबाँधले फाइदा पुर्याएको बताउनुभयो । यस्तै कुमाख–२, कइनकाँडामा डिले रानाले भन्नुभयो, “वर्षायाममा पानी पर्दा माथिबाट ढुङ्गा, माटो, बालुवा, बुट्यानलगायत बगाएर ल्याउँदा तलतिर निकै ठुलो क्षति पुर्याउँछ । यस्तो क्षति रोक्न र माटोमा चिस्यान कायम राख्न पनि फिल्टरिङ ड्यामले मद्दत गर्दो रहेछ ।”
पानीको बहाबसँगै आउने अनावश्यक वस्तुलाई कृषियोग्य भूभागको माथितिरै रोकेर आवश्यक पानी मात्र बग्न दिनका लागि फिल्टरिङ ड्याम प्रभावकारी भएको स्थानीयको भनाइ छ ।
कुमाख गाउँपालिका–२ मा ६० वटाभन्दा बढी फिल्टरिङ ड्याम निर्माण गरिएका छन् । “पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रमबाट विभिन्न १४ ठाउँमा गरेर ६० वटा जति फिल्टरिङ ड्याम यो वडामा बनेका छन् । यसले वडावासीलाई धेरै फाइदा पुर्याएको छ,” वडाध्यक्ष ईश्वरी शाहीले भन्नुभयो ।
ढुङ्गा, माटो जस्ता स्थानीय सामग्रीको प्रयोग गरेर छेकबाँध बनाइएको जनाउँदै वनगाड कुपिन्डे नगरपालिका–६ स्थित लेकबेँसी सामुदायिक वन समूहका उपभोक्ता तुलसीराम थापाले कृषियोग्य जमिनमा छेकाबाँधका कारण फाइदा पुगेको बताउनुभयो । कुमाख गाउँपालिका–२ तथा वनगाड कुपिन्डे नगरपालिका–१, ४, ५, ६ र ७ का स्थानीयले गरेको माग एवं जमिनको भिरालोपन, वर्षाको पानीको बहाब र माटोको संरचना जस्ता भौगोलिक अवस्थालाई ख्याल गरेर फिल्टरिङ ड्याम निर्माण गरिएको थियो । वनको पुनरुत्थान तथा माटो, पानी संरक्षण एवं कृषियोग्य जमिनको संरक्षणका लागि वनजङ्गलको क्षेत्र, खोल्सी तथा गल्ली यकिन गरेर मोटामोटी सवा चार मिटर चौडाइका ड्याम निर्माण गरिएको हो ।
माथिबाट आउने पानीको तीव्र बहाब घटाउन र माटोको कटान रोक्न फिल्टरिङ ड्याम उपयोगी देखिएको कृषकको भनाइ छ । समुदायको सक्रिय सहभागिता र वैज्ञानिक सोचले बनाइएका यस्ता संरचना भविष्यमा हुने क्षति कम गर्न र गाउँटोललाई सुरक्षित राख्न उपयोगी देखिएकाले कम खर्चमै निर्माण गर्न सकिने यस प्रविधिप्रति आकर्षण बढ्दै गएको छ ।