• १७ जेठ २०८२, शनिबार

मर्स्याङ्दी नदीको सतह बढेपछि स्थानीय चिन्तित

blog

मर्स्याङ्दी बढेपछि जोखिममा रहेको अस्थायी काठको पुल । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, जेठ १६ गते । वर्षायाम सुरु भएसँगै नदीको सतह बढ्न थालेपछि मर्स्याङ्दी पारिका नागरिकलाई चिन्ता थपिएको छ । नदीमा पानी बढेपछि मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु जानका लागि बनाइएको काठको पुल भत्किने भएपछि स्थानीय चिन्तित बनेका हुन् । 

सङ्घ र प्रदेश सरकारबाट पटक पटक मर्स्याङ्दी नदीमा सडक पुल निर्माणका लागि बजेट विनियोजन भएपनि निर्माण कार्यको थालनी नगरिएपछि स्थानीय आफैंले चन्दा सङ्कलनबाट काठको अस्थायी पुल निर्माण गरी यातायात सञ्चालन गर्ने गरेका छन् । २०७७ साल यता स्थानीयले हिउँदको समयमा काठको पुल हालेर यातायात सञ्चालन गर्ने गरेपनि बर्खाको समय हटाउने गरिएको छ ।

पानीको सतह बढेपछि मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङ र वडा नं. ५ घेर्मु जोड्ने मर्स्याङ्दी नदीमा बनाइएको काठको सडकपुल हटाउनुपर्ने भएपछि स्थानीय चिन्तित बनेको घेर्मुमा वडाध्यक्ष घनश्याम घलेले बताउनुभयो । काठको पुल हटाएपछि घेर्मुसँग यातायात सम्बन्ध टुट्ने उहाँले बताउनुभयो ।

वडा नं. ४ का वडाध्यक्ष बलबहादुर गुरुङले यस वर्ष गण्डकी प्रदेश सरकारबाट पक्की पुल निर्माणका लागि बजेट विनियोजन भई ठेक्का प्रक्रियामा गएको बताउनुभयो । उहाँले २०७३ सालयता सङ्घ सरकारबाट बर्सेनि बजेट परेपनि ठेक्का लाग्न नसक्दा पुल निर्माणमा ढिलाई भएको बताउनुभयो । यस वर्षबाट पुल निर्माण कार्य सुरु हुनेमा स्थानीय आशावादी रहेको उहाँले बताउनुभयो । 

अस्थायी पुल हटाएपछि घेर्मुअन्तर्गत तल्लो चिप्ला, छिचु, निउरी, संजापु खानीगाउँका नागरिकहरु यातायातबाट वञ्चित हुने छन् । स्थानीय आसबहादुर गुरुङले यातायात सम्बन्ध टुटेपछि आवतजावत गर्न र खाद्यान्न ढुवानीमा समस्या हुने बताउनुभयो ।