• १७ जेठ २०८२, शनिबार

कृषकलाई अनुदानमा २१ टन धानको बिउ वितरण

blog

फाइल तस्बिर ।

इमान सिं राना

रामपुर (पाल्पा), जेठ १६ गते । रामपुर नगरपालिकाले कृषकलाई अनुदानमा २१ टन भन्दा बढी धानको बिउ वितरण गरेको छ । धानको उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले २१ हजार ९९८ किलोग्राम उन्नत बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

कृषकको माग अनुसारका यहाँको हावापानीमा उत्पादन हुने ३ जातका धानको बिउ वितरण गरेको हो । धानको उत्पादकत्व वृद्धि गर्न तथा कृषकहरुलाई प्रोत्साहनका लागि सहुलियतमा बिउ उपलब्ध गराएको रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । मागको आधारमा कृषक, कृषक समुह र कृषि सहकारी गरी ७ सय १५ जनालाई २१ हजार ९९८ किलोग्राम धानको बिउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले बताउनुभयो ।

सावित्री १४ हजार २९८ केजी, साँवा मन्सुली छ हजार चार सय केजी र रामधान एक हजार तीन सय केजी वितरण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई सावित्री प्रतिकिलो ३४ रुपियाँ, रामधान र साँवा मन्सुली प्रतिकिलो ३७ रुपियाँको दरले उपलब्ध गराएको हो । 

बिउविजन गुणस्तर नियन्त्रण केन्द्रबाट प्रमाणित बिउ कृषकलाई उपलब्ध गराईएको कृषि शाखाले जनाएको छ । खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम मार्फत नगरपालिकाले धान, मकै र गहुँको बीउ उपलब्ध गराउँदै आएको छ ।