ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १६ गते । बजेट अभाव हुँदा बेनी–दरबाङ सडकको तेस्रो खण्ड रणबाङ–दरबाङ सडक कालोपत्रे योजना रोकिएको छ । यो खण्डको ७ किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयले ६ बर्ष अघि ठेक्का लगाएको थियो ।
ठेकेदारको लापरबाहीले सडक निर्माणमा ढिला सुस्ती हुँदै आएको उक्त सडक निर्माण योजना अघिल्लो वर्ष भने ठेकेदार कार्यस्थलमा फर्किएर काम थालेको थियो । रणबाङदेखि तोलाबाङ सम्मको करिब ३ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरेपछि बाँकी सडक कालोपत्रे गर्नका लागि बजेट अभावका कारण ठेकेदारले काम छाडेर कार्यस्थलबाट बाहिरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘वर्षौंदेखि अलपत्र परेको सडक स्तरोन्नति योजना अहिले ठेकेदार काममा फर्किएर बल्लतल्ल काम सुरु गरेको थियो । तर बजेट नहुँदा ठेकेदारले आधा सडक कालोपत्रे गरेर बाँकी काम छाडेर योजनाबाट बाहिरियो । कहिले ठेकेदारले अलपत्र पार्ने कहिले बजेट अभावले सडक निर्माण अलपत्र पर्ने अवस्था सिर्जना भएको छ । बजेटका लागि प्रदेश सरकारसँग माग गरेपनि चालु आर्थिक वर्षभित्रमा आउने नआउने कुनै टुंगो छैन ।’’
उहाँका अनुसार सडक कालोपत्रे योजना अघि बढाउन अझै चार करोड रुपियाँ बजेट आवश्यक पर्ने उहाँले बताउनुभयो । ठेकेदारलाई करिब ३५ लाख रुपियाँ काम गरेको भुक्तानी समेत दिन नसकिएको उहाँको भनाइ छ ।
गण्डकी प्रदेश सरकारको एक प्रदेश सभा एक नमूना सडक आयोजना अन्तर्गत तत्कालिन प्रदेश सभा सदस्य नरदेवी पुनको सिफारिसमा बेनी–दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका २ रणबाङ देखि मालिका गाउँपाकिलाको केन्द्र दरबाङ बजार सम्म करिब ८ किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अघि बढाइएको थियो ।
पूर्वाधार विकास कार्यालयले योजना कार्यान्वयन गर्न बिरुवा–क्याराभान जेभीसँग दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्न २०७६ साल जेठ ३१ गते सडक कालोपत्रेका लागि २२ करोड ५७ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । चौथो पटक थपिएको ठेक्काको म्याद पनि अहिले सकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले बताउनुभयो । करिब एककिलोमिटर सडक पहिरोग्रस्त भएकाले ठेक्काबाट हटाइएको उहाँले बताउनुभयो ।
अहिले रणबाङ देखि दरबाङ तर्फ ३ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । वाँकी खण्डमा पूर्वाधारको काम अन्तिमचरणमा पुर्याएर सवबेस हाल्ने तयारी भएको थियो ।
मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा ट्रयाक खुलेको थियो । बेनीदेखि सिमसम्म १२.५ किमी दुई वर्षअघि र सिम–पानाबगर खण्डको चार किमी सडक अघिल्लो वर्ष कालोपत्रे गरिएको थियो ।