• २४ जेठ २०८२, शनिबार

गोठमा पुग्यो गाउँपालिकाको टोली

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, जेठ १५ गते । गोरखाको भीमसेन थापा गाउँपालिकाले किसानको गोठमा गएर पशु सेवा दिन थालेको छ । पालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पशुपालक किसानको घरदैलोमा पुगेर सेवा दिन थालिएको गाउँपालिकाका पशु शाखा प्रमुख डा. बलराम राजवंशीले जानकारी दिनुभयो । गाउँपालिकाको पशु शाखाले किसानको आवश्यकताका आधारमा गोठ, भकारो एवं खोरमा गएर सहयोग र प्राविधिक ज्ञान दिएर पशुमा आएको समस्या समाधान गर्न खोजिएको उहाँले बताउनुभयो । 

पशु शाखाले हालसम्म गरिएको परीक्षणमा पशु चौपायामा जुका, नाम्ले, घाउखटिरा, निमोनिया र झाडापखालालगायतको समस्या देखिएपछि तत्कालै पशुचौपायाको उपचार गर्नुका साथै औषधीसमेत उपलब्ध गराइएको डा. राजवंशीको भनाइ छ । 

त्यस्तै आन्तरिक तथा बाहिरी परजीवीविरुद्धको औषधी र अन्य पशु स्वास्थ्य समस्याको औषधीसमेत वितरण गरी पशुको गोबर र थुनेलो परीक्षणसमेत गर्ने गरिएको पशु शाखा प्रमुख राजवंशीले बताउनुभयो । 

गाउँपालिकाभित्रका किसानलाई पशु बिमाबारे जनचेतना विस्तार साथै अन्य परामर्श सेवासमेत दिँदै आवश्यक परेको खण्डमा किसानलाई परेको समस्या भएमा घर घरको गोठमा गएर सेवा दिने गरिएको छ । बिरामी पशुको उपचार मात्र नभई पशुपालनको महत्व बुझाउनका लागि समेत गाउँबस्ती पुगेर सेवा प्रवाह गर्दा स्थानीय किसान खुसी भएका छन् । 

“पशुपालक किसानको समस्या समाधान गर्न पालिका पशु सेवा शाखा तयार छ,” पशु शाखा प्रमुख बलराम राजवंशी भन्नुभयो, “अब महिनाको आठ दिन किसानको गोठमा पुगेर सेवा दिने योजना रहेको छ ।”