नवीनराज कुइँकेल
लमजुङ, जेठ १४ गते । लमजुङको सुन्दरबजार नगरपालिकाले सुरु गरेको ‘छोरीको नाममा बैँक खाता’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पालिकाले तीन वर्ष अघि यो कार्यक्रम सुरु गरेको थियो ।
नगरपालिकाले हालसम्म ९० जना छोरीको नाममा बैँक खाता खोलिदिएको छ । नगरपालिकाले नयाँ जन्मने छोरीका लागि प्रक्रिया पुर्याएर आएपछि नेपाल बैँक सुन्दरबजार शाखामा दुई हजार जम्मा गर्दै खाता खोल्ने गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको नगरपालिकाले बैँक खाता खोल्ने गरेको बताउनुभयो ।
अधिकृत घर्तीले अभिभावक संरक्षक भई छोरीकै नाममा हुने उक्त खाताबाट १८ वर्षपछि मात्रै रकम झिक्न पाइने जानकारी दिनुभयो ।
नगरपालिकाले कार्यविधि नै बनाएर २०७९ साउन १ गतेबाट यो अभियान सुरु गरेको थियो । स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाका अनुसार नगरपालिकाले नयाँ जन्मने सबै छोरीको नाममा खाता खोलिदिने गरेको छ । अभियान सुरु गरेपछि अहिलेसम्म ९० जना छोरीको नाममा खाता खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको हालसम्म २० जना, आर्थिक वर्ष २०८०/०८१ मा ३५ जना र आर्थिक वर्ष २०७९/०८० मा ३८ जना छोरीहरूको बैँक खाता खोलिएको छ ।
नगरपालिकाले चालु वर्षका लागि नयाँ जन्मने छोरीको नाममा बैँक खाता खोल्न एक लाख रुपियाँ बजेट विनियोजित गरेकोमा हालसम्म २० जनाको खाता खोल्दा ४० हजार रुपियाँ मात्र खर्च भएको जनाएको छ । खाता खोल्नका लागि छोरीको संरक्षकले आफ्नो नागरिकताको प्रतिलिपि, बालिकाको जन्मदर्ता, वडाको सिफारिशलगायतका कागजपत्र आवश्यक पर्ने नगरपालिकाको कार्यविधिमा उल्लेख छ ।
छोरीप्रति सम्मान र विश्वास बढाउनुको साथै अभिभावकलाई छोरीको खाता खोलेर रकम जम्मा गर्दै जान प्रेरित गर्ने उद्देश्यले ‘छोरीको नाममा बैँक खाता’ कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो । छोरी भएको थाहा पाउँदा गर्भपतन गर्ने, सानै उमेरमा विवाह गराइदिने र जन्मदर्ता नगराउनेलगायतका धेरै समस्या समाधान गर्न यस्ता कार्यक्रम सहयोगी बन्ने गरेको नगर प्रमुख कोइरालाले बताउनुभयो ।