• १६ जेठ २०८२, शुक्रबार

विप्रेषणसँगै भित्रिँदै दीर्घरोग

blog

माम र दामको खोजीमा काकाकुल पर्दाको चोटले जीवनसङ्घर्षमा छन् सुजन थामी । वैदेशिक रोजगारीले जीवनमरणको दोसाँधमा पुग्ने उनी मात्र होइनन्, कैयौँ अरू पनि छन् । 

वैदेशिक रोजगारका लागि खाडी मुलुकमा जानेका कारण नेपालमा विप्रेषण (रेमिट्यान्स) बढेको त छ तर मिर्गौला रोगले थलिएर जीवनको आशामा स्वदेश फर्कनेहरू– दोलखाका सुजन सरह– को अपूर्व चाप नेपालका अस्पतालमा देखिन्छ ।    

तथ्याङ्कले देखाएको छ नेपालमा प्रत्येक वर्ष करिब तीन हजार मानिस मिर्गौलाको जटिल समस्यामा पर्छन् । जसमा ३३ प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा खाडी राष्ट्रहरू (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत र ओमान) तथा मलेसिया गएकाहरूको छ । मुख्य रूपमा रोजगारीका लागि खाडी राष्ट्रमा गएकामा यस्तो समस्या (मिर्गौला असफल) बढी देखिएको छ । 

रोजगार गरेर घरपरिवारको आवश्यकता पूरा गर्ने मनोरथले कतार पुगेका सुजन आफ्ना मिर्गौलाले काम गर्न छाडेपछि बाँच्न डायलासिसको भर परेका छन् । वनस्थलीमा रहेको नेसनल किड्नी सेन्टरमा उनको डायलासिस भइरहेको छ । 

हप्ताको दुई पटक डायलासिस गराउनैपर्ने भएकाले उनका लागि पालो पर्खेर बस्नुभन्दा अलि बढी रकम तिरेर डायलासिस गराउनुपर्ने बाध्यता छ । खाडीमा पसिना बगाएर कमाएको पैसाभन्दा बढी खर्च उनले आफ्नो उपचारमा गरिसकेका छन् । 

स्वास्थ्य परीक्षण प्रमाणपत्र बोकेर वैदेशिक रोजगारीका लागि कतार पुगेका थामीका लागि एक डेढ वर्षको कडा श्रमले मिर्गौला गुम्यो । गगनचुम्बी भवन निर्माणमा खटिएका थामी जस्तै एक सय ५० जनाभन्दा बढी नेपाली श्रमिकको अवस्था पनि विचारणीय नै छ । कतिसम्म भने एउटै स्थानमा ठुलो सङ्ख्यामा श्रमिकले बस्नुपर्ने, पिउने पानी पर्याप्त नहुने तथा उपलब्ध भएको पानी पनि तातो हुने हुँदा खाडी मुलुकमा जाने श्रमिकमा मिर्गौला रोगको समस्या देखिने गरेको छ । 

एउटै कोठामा १३ जना कोचाकोच गरेर बसेको दिनलाई उनी कालकोठरीमा फसेको जस्तो मान्छन् । मिर्गौलाको समस्या मात्र होइन अन्य स्वास्थ्य समस्याले पनि नेपाली श्रमिक पीडित हुने गरेका छन् ।  पिउने पानी शुद्ध नहुने र अस्वस्थ खानपानका कारण प्रायः श्रमिकमा उच्च रक्तचाप समस्या देखा पर्ने गरेको छ । जुन अन्ततः मुटु, मस्तिष्क र मिर्गौला रोगको एक प्रमुख कारण बन्दछ । 

सङ्खुवासभाका २८ वर्षीय सागर तामाङको कथाव्यथा पनि सुजनको भन्दा कम छैन । पर्याप्त मात्रामा पिउने पानी नपाउँदा चिस्याइएका ‘कोल्डड्रिङ्क’ बढी पिउने बानी बस्न जाँदा सागरका मिर्गौलाले पनि काम गर्न छाडे ।  

२०७२ सालमा स्वस्थ शरीर भएको प्रमाणपत्र बोकेर मलेसिया उडेका सागर त्यसको केही वर्षमै मिर्गौला रोगले थलिए । सुरक्षागार्डका रूपमा काम गर्न थालेको दुई वर्षमा उनमा उच्च रक्तचाप समस्या देखिएको थियो । यसलाई गम्भीर रूपमा नलिई हेलचक्रयाइँ गरेका सागरको अन्ततः मिर्गौला नै बेकार भए । 

सागर भन्छन्, “दिनभर काम गरेपछि बेलुकी दुखाई कम गर्न ‘पेनकिलर’ खाएर सुत्थेँ । भोलिपल्ट फेरि काममा जान्थेँ । यसरी नै समय बित्दै जाँदा स्वास्थ्य अझै बिग्रँदै गयो । खुट्टा सुन्निने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखा पर्न थाले । अस्पताल गएर स्वास्थ्य परीक्षण गराएपछि म त झाँगाबाट खसे झैँ भएँ । मेरा त दुवै मिर्गौला काम नगर्ने भइसकेका रहेछन् ।” 

वैदेशिक रोजगारीमा गएर मिर्गौलाको रोग लिएर आउनेको सङ्ख्या बढेको देखिन्छ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा ८० जना श्रमिक मिर्गौला रोग लिएर वैदेशिक रोजगारीबाट फर्किएका छन् । आव २०८०/८१ मा मिगौला रोगको समस्या लिएर आउनेको सङ्ख्या ९५ थियो । 

दुई वर्षको तुलना गर्दा चालु आवमा प्रत्येक महिना औसत १० जना तथा गत आवमा औसत आठ नेपाली श्रमिक मिर्गौला रोग लिएर फर्किएको देखिन्छ । यो तथ्याङ्क वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता लिनेको मात्रै भएकाले थप रोगी पनि हुन सक्छन् ।  

नेसनल किड्नी सेन्टरमा डायलासिस गराइरहेकामध्ये अधिकांश नेपालीले उच्च तापक्रममा दैनिक १४ देखि १६ घण्टासम्म कडा परिश्रम गरेको बुझिएको छ । 

मिर्गौला रोगका विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको भनाइमा  विदेशमा आराम नगरी उच्च तापक्रममा लगातार लामो समयसम्म काममा खटिने र पानी नपिउनेको मिर्गौलामा पाँच/छ महिनामै समस्या देखिएको छ । डा. काफ्लेका अनुसार खाडी क्षेत्रका देशमा गएका नेपाली श्रमिकको मिर्गौलामा असर पर्नुमा उच्च तापक्रम, खानपान र तनावका अतिरिक्त उच्च रक्तचापलाई मुख्य दोष दिन मिल्छ । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठको बुझाइमा खाडी क्षेत्रका देश र मलेसियाबाट फर्किने नेपालीमा मिर्गौला रोगको समस्या भयावह बन्दै छ ।

तथ्याङ्कले के देखाएको छ भने एक हजार जनाको मिर्गौला प्रत्यारोपण गर्दा करिब २५ प्रतिशत (२५० जना) वैदेशिक रोजगारीमा गएर फर्किने छन् । यसै गरी वैदेशिक रोजगारीबाट मिर्गौला रोग लिएर फर्केपछि सो अस्पतालमा आएर डायलासिस गराइरहेका बिरामीको हिस्सा ३९/४० प्रतिशत छ । खाडी क्षेत्रका मुलुकमा लामो समय काम गरेर नेपाल फर्किएको एक वर्षपछि पनि मिर्गौलामा समस्या देखिने गरेको छ । कतिपय श्रमिक मिर्गौला बिग्रिएपछि त्यतै दुई/चार पटक डायलासिस गरेर स्वदेश फर्किने गरेका छन् ।

केही श्रमिकमा त खाडी क्षेत्रका मुलुक गएको एक/दुई महिनामै मिर्गौलाको समस्या उत्पन्न भएको जानकारी दिँदै डा. श्रेष्ठले सचेत रहन सुझाव दिए, “सामान्यतया एक महिनामै मिर्गौला रोग देखा पर्दैन । तीन/चार महिनामा केही न केही लक्षण देखिन सक्छ । यो समस्याले नेपालबाट स्वास्थ्य परीक्षण गराएर जाने व्यवस्थामाथि प्रश्न उठाएको छ ।” 

सन् २०२१ मा एसियन जर्नल अफ मेडिकल साइन्सेसमा विदेशबाट फर्किएका श्रमिकमा मिर्गौलाको जोखिमसम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो । मिर्गौलारोग विशेषज्ञले खाडी क्षेत्रका देशबाट फर्केका ४० वर्षमुनिका ३८ जना (३२ पुरुष र छ महिला) लाई सहभागी गराई अनुसन्धान गरेका थिए । 

यस अनुसन्धानबाट के कुरा थाहा भयो भने बिरामी भएर स्वदेश फर्किएकामध्ये धेरैजसो (९२.१ प्रतिशत) मा मिर्गौलासम्बन्धी समस्या देखियो । आप्रवासी श्रमिकमा मिर्गौलासम्बन्धी समस्या उच्च (७६.३ प्रतिशत) हुन सक्ने अध्ययनको निष्कर्ष थियो ।  

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङको भनाइमा परिवारको कमाउने मुख्य व्यक्ति नै बिमारले थलिँदा घरपरिवारको दैनिकीसँगै शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताको अभाव हुन जान्छ । 

मिर्गौला जस्तो रोगले आर्थिक र सामाजिक रूपमा गरेको क्षति अनुमान गरेभन्दा भयावह हुन्छ । सरकारले श्रमिक पठाउने गरेका गन्तव्य देशसँग आफ्ना नागरिकको स्वास्थ्यका विषयमा स्पष्ट नीति नबनाउँदा वैदेशिक रोजगारीमा जानेले त्यसको मूल्य चुकाइरहेको देखिन्छ । 

वैदेशिक रोजगार कम्पनीले कठोर परिश्रम गर्नुपर्ने काममा श्रमिक पठाउने र रोजगारदाताले श्रमिकसँग सम्झौता गर्दा स्वास्थ्य बिमा नगर्ने भएकाले पनि श्रमिक नै समस्यामा पर्ने गरेको गुरुङको बुझाइ छ । साथै श्रमिकलाई स्वास्थ्य समस्या हुँदा स्वदेश फिर्ता पठाउने प्रवृत्ति रोक्न नीतिमै सुधार गर्न आवश्यक देखिन्छ । श्रमका क्रममा स्वास्थ्य समस्या उत्पन्न भएका रोजगारदाताले नै सम्पूर्ण उपचार खर्च बेहोर्नुपर्ने सम्झौता अहिलेसम्म गरिएको छैन । 

बेलायतको बर्नमथ विश्वविद्यालयको टोलीले गरेको स्थलगत अध्ययनले खाडी क्षेत्रका मुलुक र मलेसियामा ‘आउटडोर ड्युटी’ गर्ने नेपाली श्रमिकमा मिर्गौलासम्बन्धी रोगको बढी जोखिम देखाएको छ ।

खासगरी एकै स्थानमा लामो समय खटिनुपर्ने र ‘आउटडोर ड्युटी’ गर्ने श्रमिकमा यो समस्या देखिने गरेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा खाडी क्षेत्रका देश र मलेसियामा काम गरी फर्किएका ७१८ जनामा सो अध्ययन गरिएको थियो । 

 –युवामञ्च