• २४ जेठ २०८२, शनिबार

कालीगण्डकी कोरिडोरका घरटहराको क्षतिपूर्ति दिइने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ जेठ १४ गते । सरकारले कालीगण्डकी कोरिडोर ‘गैँडाकोट–राम्दी–मालढुङ्गा’ सडक अन्तर्गतको राम्दी–रानीमहल सडकखण्ड तथा हार्मीचौर–बलेवा–मालढुङ्गा सडकखण्डमा सडक स्तरोन्नति गर्दा क्षति हुने २७ वटा घरटहराको क्षतिपूर्ति दिने भएको छ । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय मङ्गलबार  सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो कुराको जानकारी दिनुभएको हो ।

मन्त्री गुरुङले जापान सरकारबाट छात्रवृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै बैठकले बाफिकोट–खुङ्ग्री १३२ केभी प्रसारण लाइन आयोजनाका लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । 

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनालाई दक्षिणकाली नगरपालिका, गोदावरी नगरपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकामा करिब २१३ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । 

नेपाल सरकार र दक्षिण कोरिया सरकारबिच हस्ताक्षर हुने रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि गणतन्त्र कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । 

मन्त्रीपरिषद् बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस स्वीकृति दिने, सार्वजनिक सेवा प्रसारण नियमावली, २०८२ स्वीकृत गर्नेलगायत विभिन्न निर्णय गरेको छ ।