• १४ जेठ २०८२, बुधबार

सिदिङ्वा महोत्सवमा पुरुष र महिला म्याराथन हुने

blog

धार्मिक पर्यटकीयस्थल सिदिङ्वाधाम । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा पुरुष तथा महिला म्याराथन हुने भएको छ । यही जेठ १५ देखि १७ गतेसम्म आयोजना हुने तीन दिने पर्यटन महोत्सवमा म्याराथन प्रतियोगिता हुने भएको हो ।

‘साँस्कृतिक मौलिकताको जगेर्ना, खेलकुदको विकाससँगै ग्रामीण पर्यटनको प्रवर्द्धनमा सिदिङ्वाको हातेमालो’ भन्ने नारासहित म्याराथन हुन लागेको हो । विजेतालाई समान पुरस्कार प्रदान गर्नेगरी महोत्सवको अवसरमा पुरुष तथा महिला म्याराथन प्रतियोगिता हुन लागेको म्याराथन समितिका संयोजक अमिर राईले जानकारी दिनुभयो । 

संयोजक राईले म्याराथनका विजेता पुरुष र महिलालाई समान रुपमा पुरस्कार प्रदान गर्नेगरी तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार म्याराथनका विजेता महिला पुरुषतर्फ नै प्रथमलाई ४०–४० हजार रुपियाँ, दोस्रोलाई ३०–३० र तेस्रोलाई २०–२० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ । सिदिङ्वा गाउँपालिकाबाट म्याराथनमा सहभागी भई प्रथम हुनेलाई २५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ । 

समुद्र सतहदेखि तीन हजार ५१५ मिटर उचाइ रहेको पर्यटकीयस्थल सिदिङ्वाधाम क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले सिदिङ्वा गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्न लागेको हो । सिदिङ्वा धामसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवद्र्धन गर्न पनि महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो ।

भारतको सिक्किमसँगको सिमाना नजिक पर्ने अन्तर्राष्ट्रिय जैविक मार्गका रुपमा रहेको धार्मिक पर्यटकीय क्षेत्र सिदिङ्वाधामलाई कञ्चनजङ्घा पदयात्राको मुख्य प्रवेश विन्दुको रुपमा पनि लिने गरिएको छ । 

पर्यटनको प्रसस्त सम्भावना भएर पनि आवश्यक प्रचारप्रसार नहुँदा सोचेजस्तो उपलब्धि नभई रहेको अवस्थामा प्रचारप्रसारलाई व्यापक बनाउनेगरी पर्यटन महोत्सव आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना)ले बताउनुभयो ।