काठमाडौँ, जेठ १३ गते। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पेशागत हकहितसँगै लोकतान्त्रिक शासन व्यवस्थाप्रति निरन्तर क्रियाशील नेपाल प्रेस युनियन पेशागत सङ्गठनमध्ये अग्रणी स्थानमा रहेको चर्चा भएको छ।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापाना दिवसको अवसरमा काठमाडौँमा आयोजित ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटमा प्रेसको भूमिका’ विषयक विचार गोष्ठीका सहभागी वक्ताले पेशागत हकहितसँगै जलवायु परिवर्तनका विषयमा प्रेस युनियनले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
सो समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. मिनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पेशागत हकहितसँगै जलवायु सङ्कटबारे प्रेस युनियनले विश्वको ध्यान तान्ने गरी सञ्चालन गरेका कार्यक्रम अतुलनीय रहेको बताउनुभयो।
रिजालले भन्नुभयो, ‘जलवायु परिवर्तनको असर र नेपालल भोग्नु परेका समस्या विश्वमाझ प्रस्तुत गर्न प्रेस युनियनले सम्पन्न गरेको ‘लोमाङ्थान अन्तर्राष्ट्रिय मिडिया समिट’ ले विश्वको ध्यान खिच्न सफल हुन मुलुकका लागि नै गर्वको विषय हो।’’
उहाँले जलवायु परिवर्तनको असरबारे विश्वव्यापी साझा धारण तय गर्ने उद्देश्यले आयोजित ‘सगरमाथा संवाद’ को औचित्यलाई स्थापित गर्न लोमाङ्थान मिडिया समिट कोषेढुङ्गा सावित रहेको धारणा व्यक्त गर्नुभयो।
समारोहलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनको असरबाट अल्पविकसित मुलुकका गरिब र विपन्न र सीमान्तकृत समुदायी बढी प्रताडित रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले मानवीय सङ्कट निम्तिने गरी बढ्दो जलवायु परिवर्तनको असरलाई विश्वमाझ उजागर गर्ने गरी प्रेस युनियनले सुरु गरेको अभियान अत्यन्तै सान्दर्भिक र गहन रहेको धारणा व्यक्त गर्नुभयो।
पूर्व अर्थराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पेशागत हकहितसँगै नेपाल प्रेस युनियनले जलवायु परिवर्तनको असरलाई आत्मसात गरी सुरु गरेको अभियान विश्वमञ्जका लागि नै उदाहरणीय रहेको धारणा व्यक्त गर्नुभयो।
राणाले भन्नुभयो, ‘‘नेपाली प्रेस जगत दक्षिण एसियाली मुलुकको तुलनामा स्वच्छ, निष्पक्ष र पारदर्शी मानिन्छ, प्रेस स्वन्त्रता पेशागत हकहितसँगै जलवायु परिवर्तनबारे ग्लोवल साउथको एउटै धारणा बनाउने गरी प्रेस युनियनले सुरु गरेको अभियान अन्यन्तै सान्दर्भिक छ।’’
उहाँले विश्व शक्ति राष्ट्रबिचको तनाव र प्रतिस्पर्धासँगै जलवायु परिवर्तनको विषय थप ओझेलमा पर्नसक्नेमा चिन्ता व्यक्त गर्नुभयो।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पेशागगत हिकहितसँगै जलवायु परिवर्तनका विषयमा प्रेस युनियन सुरु गरेको अभियानलाई सबै क्षेत्रले अपनत्व गर्नु गर्वको विषय रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले राष्ट्रका हरेका सवालमा प्रेस युनियनले अग्रणी भूमिका निर्वाह गर्दै आफ्ना गतिविधिलाई पारदर्शी र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हरिहर विरही, नेपाल प्रेस युनियका पूर्व अध्यक्ष बद्री सिग्देल, समिरजङ्ग शाह, कुलचन्द्र वाग्ले, रमेश तुफानलगायतका वक्ताले पेशागत सङ्गठनमा प्रेस युनियनको भूमिका अग्रणी रहको चर्चा गर्नुभयो।