• १५ जेठ २०८२, बिहिबार

शहरी विकास मन्त्रालय साउन १ गतेबाट पेपरलेस हुने

blog

शहरी विकास मन्त्रालय

काठमाडौँ, जेठ १३ गते । शहरी विकास मन्त्रालयले नयाँ आर्थीक वर्षबाट साउन १ गतेबाट सरकारी कामकारवाही पेपरलेस हुने भएको छ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले साउन १ गतेबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली( जीआईओएमएस) प्रणालीबाट हुने जानकारी दिनुभयो । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारवाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्नेछ ।

मङ्गलबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मनत्रालयको सेवा प्रवाह सहज र चुस्त बनाउन फाइल ट्यापिङ सिस्टम र एकीकृत कार्यालय व्यवस्थापन प्रणाली पूर्ण कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको हो ।

मन्त्रालयका सचिव सिग्देलले आंशिक रुपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्यवयनमा ल्याउने जानकारी दिनुभयो ।

‘‘सरकारी कामकारवाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौं,’’ सचिव सिग्देलले भन्नुभयो, ‘‘अब अन्तर मन्त्रालय फाइल र चिठि पत्र, मन्त्रालय र विभागहरुबिच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’’

यो प्रणाली लागू भएपछि ब्याक डेटमा काम गर्ने र फाइलहरु अड्काउने प्रवृत्ति अन्त्य हुने छ । कुन फाइल मन्त्रालयको कुन निकायमा कति दिनदेखि छ भन्ने जानकारी लिने फाइल ट्रयापिङ सिस्टम पनि कार्यान्वयनमा ल्याइने भएको छ ।

जीआईओएमएस प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउन लागेको हो । 

यो प्रणाली प्रयोग गरि सरकारी निकायहरुले विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायतका कार्य हुनेछ ।