• २४ जेठ २०८२, शनिबार

मानव अधिकारको सम्मान र संरक्षण जरूरी : प्रदेश प्रमुख भट्ट

blog

सन्ताेष सुबेदी

कास्की, जेठ १३ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी रहेको बताउनुभयो । सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिनेमा प्रदेश प्रमुख भट्टको जोड छ ।

‘‘हामी सबै आफ्नो अधिकारप्रति सचेत र अरूका अधिकारप्रति सम्मान गर्न सक्नुपर्दछ । विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड हो । लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक रहेका छन् । मुलुकमा सुशासन र विकासका लागि यस्ता संस्थाहरूको सम्वर्द्धन जरूरी छ,’’ उहाँले भन्नुभयो ।

मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षण गर्नमा आयोगले आफ्नो स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आइरहेको उल्लेख गर्नुहुँदै भट्टले आयोगले निरन्तर पर्यवेक्षण र अनुगमन गरी प्राप्त सुझावबाट नेपाल सरकारलाई मानव अधिकार संरक्षण गर्न थप मद्धत पु¥याएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मानव अधिकारप्रतिको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नको लागि नेपाल सरकारलाई योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने चरणमा समेत आयोगले पु¥याउँदै आइरहेको सहयोगप्रति पनि धन्यवाद छ ।’’

मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मानव मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको हुँदा मानिसलाई मानिस भएर बाँच्नका लागि अपरिहार्य रहेको उहाँको भनाइ छ ।