• २४ जेठ २०८२, शनिबार

कम्बोडियामा ‘सक्रान्त’ साइत

blog

कम्बोडियाको राजधानी नोमपेन्हपछिको दोस्रो ठुलो सहर स्यामारिपसम्म बैङ्ककबाट यात्रा गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । बस यात्राका आफ्नै विशेषता हुन्छन् । स्थलमार्गबाट यात्रा गर्दा वरिपरिको भूस्वरूप, बस्ती, घर, भौतिक पूर्वाधार तथा आमजीवनशैली देख्‍न सकिन्छ । विभिन्‍न ठाउँका बारेमा केही जानकारी हुन सक्छ । सामान्यतः यात्रामार्गमा देखिने ठाउँ र परिवेशबाट पनि त्यो मुलुक र त्यहाँको समाजबारे केही अड्कल काट्न सकिन्छ । यो स्थलमार्गको यात्राबाट के कुरा बुझ्न सकिन्थ्यो भने थाइल्यान्डको विकास केवल बैङ्कक जस्ता ठुला ठुला सहरमा मात्र केन्द्रित रहेको छैन । स्रोतसाधन र स्थानीय उपयुक्तता हेरी सन्तुलित प्रकारले विकासको पहल भएको देखिन्छ । थाइल्यान्डले प्रकृति र संस्कृतिबिच तालमेल मिलाएर भौतिक विकासका कार्य अघि बढाएको अनुभूति हुन्छ । भूउपयोगको राम्रो अभ्यास भएको देखिन्छ । कृषि, उद्योग, बसोबासका क्षेत्र नियोजित ढङ्गले छुट्टाइएको पाइन्छ ।

बैङ्ककबाट करिब पाँच घण्टाको यात्रापछि थाइल्यान्ड र कम्बोडियाबिचको सीमा क्षेत्रमा आइपुग्यौँ । सीमा क्षेत्रमा बस रोकिन्छ । गाइडले हामीलाई इमिग्रेसनका औपचारिकता पूरा गर्न अनुरोध गर्छन् । हामी सबै बसबाट ओर्लिन्छौँ । सीमा क्षेत्रमा धेरै ठुलो भिड देखिन्छ । थाइल्यान्डबाट कम्बोडिया आउनेको ताँती लागेको थियो । नेपालमा जस्तै कम्बोडियामा वैशाख महिनाको पहिलो दिनलाई नयाँ वर्षका रूपमा धुमधाम मनाउने चलन रहेछ । यो दिनलाई उनीहरूले ‘सक्रान्त’ भन्दा रहेछन् जसलाई हामी ‘सङ्क्रान्ति’ भन्दछौँ । यो नै उनीहरूको राष्ट्रिय पर्व रहेछ । देशभित्र एवं बाहिर रहेका कम्बोडियाली अर्थात् खमेरहरूको आफ्नो घरपरिवारसँग भेटघाट गर्ने, रमाउने उत्सवका रूपमा वैशाख सङ्क्रान्तिलाई मनाउँदा रहेछन् । यो हाम्रो दसैँ जस्तो रहेछ । इमिग्रेसनमा भिडभाड भए पनि व्यवस्थित थियो, पालैपालो अगाडि बस्ने व्यवस्था मिलाइएको थियो । स्वदेशी एवं विदेशी सबै एउटै पङ्क्तिबाट अघि बढ्नुपर्ने थियो । नेपालीमा म र डा. गिरी पन्थी थियौँ । इमिग्रेसनमा हामीलाई विशेष निगरानी राखेको जस्तो अनुभव हुन्थ्यो । हाम्रा कागजात खासगरी पासपोर्ट, ई भिसालाई ओल्टाई पल्टाई हेरियो । काउन्टरका कर्मचारीले हामीलाई केही समय छेउ लागि कुर्न लगाए । 

सोधेका केही प्रश्‍नको जवाफ दिएपछि मात्र पासपोर्टमा छाप लगाई अगाडि बढ्ने अनुमति पायौँ । हामीलाई अलि असहज महसुस भए पनि कुनै खासै अप्ठ्यारो परेन । मैले यसबारेमा बसका गाइडसँग कुरा गरेको थिएँ । पहिले विदेशी स्वदेशी यात्रुलाई अवस्था हेरी आक्कलझुक्कल दुःख दिने, पैसा माग्नेसमेतको हर्कत हुने गर्दथ्यो । शङ्का लागेमा कहिलेकाहीँ विदेशीलाई सोधपुछ गर्ने चलन छ, उनले जवाफ दिए । अहिले यस प्रकारका अनियमित कार्य गर्ने प्रवृत्तिलाई कडा नियमन गरिएको छ, उनले जवाफ थपे ।  हुन पनि प्रत्येक डेस्क/काउन्टरमा यहाँ पैसा लाग्दैन या पैसा दिनु पर्दैन (नो पेमेन्ट हेयर) भन्‍ने कुरा देखिने गरी लेखिएको थियो । सरकारले अनियमित कार्य गर्ने प्रवृत्ति रोक्न सजगताका साथ कदम चालेको देखिन्छ । हुन त हाम्रा सिंहदरबार तथा जिल्लाका सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालय तथा भन्सार आदिमा भ्रष्टाचार गर्न नहुने सन्देश लेखिएको देखिन्छ तर सेवा प्रवाह गरिने प्रत्येक काउन्टरमा उक्त किसिमका सन्देश देखिने गरी लेखिनु उपयुक्त हुने कुरा कम्बोडियाबाट सिक्न सकिन्छ ।

अरन्यप्रथेट–पोइपेट सीमा क्षेत्र थाइल्यान्ड कम्बोडियाबिचको एउटा महत्वपूर्ण आवागमनको नाका हो । थाइल्यान्डतिरको सीमा क्षेत्रलाई अरन्यप्रथेट र कम्बोडियाको क्षेत्रलाई पोइपेट भनिन्छ । दुवैतर्फ ठुलो भवन, व्यस्त बजार र होटेल देखिन्छ । केही वर्षअगाडिसम्म यहाँ तस्करी, अवैध आवागमन, ठगीका प्रशस्त घटना हुने गर्दथे । अहिले यो न्यून हुँदै गएको रहेको थाहा पाइयो । थाइल्यान्ड र कम्बोडियाबिचको सीमा सम्बन्ध धेरै सुखद नभएको इतिहास छ । दुवै मुलुकबिच सधैँ सिमानाका विषयलाई लिएर झगडा भएका दृष्टान्त छन् । विश्‍वप्रसिद्ध प्रिया विहार मन्दिरको स्वामित्व विषय नै झगडाको कारण बनेको थियो । यो विहारको स्वामित्वबारे अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा पुगेको थियो । अदालतले कम्बोडियाको पक्षमा निर्णय ग¥यो । यो मन्दिर क्षेत्रको पूर्व र पश्‍चिमको केही भागमा थाइल्यान्डको स्वामित्व हुने फैसला गरेको रहेछ । प्रिया विहार मन्दिर विश्‍वसम्पदाका रूपमा युनेस्कोले सूचीकृत गरेको छ । यो नटराज (शिव) माथि आस्था राख्‍ने दक्षिण भारतको चोला वंशीय राजा सूर्यवर्मनको पालामा बनेको थियो । अहिले यो मन्दिरलाई बौद्ध धर्मावलम्बीले उत्तिकै आस्थाका साथ आदर गर्छन् ।

औपनिवेशिक शासन तथा आन्तरिक राजनीतिक किचलोले थलिएको कम्बोडिया अहिले आर्थिक विकास र समुन्‍नतिको मार्गमा अघि बढेको अनुभूति हुन्छ । हामी यात्रा गरेको बसका गाइड कम्बोडियाली रहेछन् र उनले आफ्नो मुलुक छिमेकी देश थाइल्यान्ड र भियतनामको तुलनामा धेरै पछाडि परेको दुःखेसो हामीसँग गरेका थिए । उनको विचारमा विकासका पूर्वाधार जस्तै सडक, विमानस्थल एवं विद्युतीकरणले आर्थिक वृद्धि र विकासमा ठुलो मद्दत गर्दछ । थाइल्यान्ड र भियतनाम विकासमा अगाडि हुनुका पछाडि भौतिक पूर्वाधार महत्वपूर्ण कारक हो भन्‍ने उनको भनाइ थियो । थाइल्यान्डका विमानस्थल र अन्य पूर्वाधार व्यवस्थापन राम्रो भएकाले बाहिरबाट पर्यटक बढी पुग्छन् । अहिले कम्बोडियामा चार वटा अन्तर्राष्ट्रियस्तरका विमानस्थल तयार भइरहेका कुरा उनी थप्छन् । तीमध्येको ठुलो राजधानी नोमपेन्हबाट २० किलोमिटर टाढा रहेको निर्माणाधीन टेको अन्तर्राष्ट्रिय विमानस्थल हो । यो विमानस्थल दक्षिण पूर्वी एसियामा सिङ्गापुरपछिको दोस्रो ठुलो हुने दाबी गरिन्छ । आगामी जुलाई महिनामा यसको सञ्चालन गरिने लक्ष्य राखिएको छ । कम्बोडियाको अर्को आकर्षक विमानस्थल सियामरिप अन्तर्राष्ट्रिय विमानस्थल हो जुन सञ्चालनमा आइसकेको छ । सियामरिपमा पर्यटन व्यवसाय अभिवृद्धि गर्न यो विमानस्थलको ठुलो भूमिका रहेको छ । यो विमानस्थल चिनियाँ सहयोगमा बनाइएको हो । यसको सञ्चालनको ठेक्का चीनको युनान होल्डिस् कम्पनीले लिएको छ । वास्तवमा कम्बोडियाका ठुला पूर्वाधार परियोजनाको लगानीकर्ता चीन रहेको छ । जापानको संलग्नता पनि उल्लेख्य रहेको छ । चीन वास्तवमा  कम्बोडियाको धेरै पुरानो र भरपर्दो मित्र हो । कम्बोडियाका पूर्वराजा नरोदम सिंहानुक र चीनका स्व. नेता माओ त्सेतुङबिच घनिष्ठ मित्रता थियो । चीनसँगको यो मित्रता यद्यापि छँदै छ, सियामरिपमा हाम्रा स्थानीय गाइड सोमचिनले हामीलाई बताउँछन् ।

सियामरिपमा हामी बसेको तारा अङ्खोर होटेलमा पर्यटक खचाखच भरिएका थिए । पर्यटकका लागि रुचिका धेरै चिज स्यामरिपमा भएका हुनाले पनि यहाँ पर्यटन व्यवसायको विकास भएको देखिन्छ । यहाँको प्रमुख आकर्षण भनेकै विश्‍व प्रसिद्ध अङ्खोरवाट मन्दिर हो । अङ्खोर–खमेर (कम्बोडिया) को पुरानो राजधानी पनि हो । ठुलो क्षेत्रफलमा फैलिएको यो मन्दिर १२ औँ शताब्दीमा राजा सूर्यवर्मनले (द्वितीय) बनाएका थिए । हिन्दु देवता विष्णु भगवान्का नाममा समर्पित यो मन्दिरपछि बुद्धमार्गीको पनि आराधना स्थल बन्‍न पुग्यो । यसैले अङ्खोरवाट हिन्दु एवं बौद्धमार्गी दुवैका लागि पवित्र स्थल बन्‍न पुगेको छ । यो मन्दिरको आकृति कम्बोडियाको राष्ट्रिय झन्डामा अङ्कित गरिएको छ । अङ्खोरवाटलाई पहिले यशोधरीपुर भनिन्थ्यो भन्‍ने कुरा ऐतिहासिक दस्ताबेजमा उल्लेख गरिएको बताइन्छ । पहिला पोर्तुगिज र पछि फ्रेन्च अन्वेषणकर्ताले अङ्करबाट उत्खनन गरेका थिए । खमेररुजले साम्यवादी शासन स्थापनाका लागि गरेका युद्धका बेला यो मन्दिरमा केही क्षति भएको थियो । पछि भारत र जापानको सहयोगमा यसको पुनर्निर्माण गरिएको रहेछ ।

सियामरिपमा भएको विकासको रफ्तार र गतिविधि नियाल्दा कम्बोडिया छिट्टै दक्षिण पूर्वी एसियाली मुलुकको समकक्षी हुन सक्ने सम्भावना देखिन्छ । साढे चार दशकअगाडि मात्र त्रासदीपूर्ण हिंसा र संहार भोगेको यो मुलुक आफ्नो विगतको प्रतिकूलतामाथि विजय प्राप्त गरी अगाडि बढेको देखिन्छ । कम्बोडिया यसरी अगाडि बढ्नुमा राजनीतिक स्थिरतालाई विश्लेषकले जस दिने गर्छन् । पोलपोटद्वारा नेतृत्व गरिएको खमेररुजको साम्यवादी शासनको अन्त्य भएपछि सन् १९७८ देखि कम्बोडिया पिपुल्स पार्टीका नेता हुनसेनले सन् २०२३ सम्म एकछत्र शासन गरे । त्यसपछि उनले उनका छोरा हुनमनेतलाई पिपुल्स पार्टीको नेतासहित प्रधानमन्त्रीमा उत्तराधिकारीका रूपमा स्थापित गरे । अहिले कम्बोडियामा नाम मात्रको बहुदलीय व्यवस्था भएको कुरा हाम्रा गाइडले हामीलाई बताए । बेला बेलामा निर्वाचनको नाटक मञ्चन गरिन्छ । संसद्मा सत्तारूढ दलको पूरा कब्जा रहेको छ तर राजनीतिक स्थिरता भएकाले आर्थिक विकासमा स्वदेशी तथा विदेशी लगानीमा वृद्धि भएको स्विकार्नु पर्दछ । दक्षिणपूर्वी एसियाली मुलुकमध्ये सबैभन्दा धेरै प्रतिशतमा आर्थिक वृद्धिदर भएको मुलुकमध्ये कम्बोडिया अग्रस्थानमा रहेको छ । यो कुरा त्यस क्षेत्र विशेषतः भियतनाममा काम गर्ने एक भारतीय इन्जिनियरले सियामरिप विमानस्थलमा भनेका थिए । सियामरिप विमानस्थलमा उनी पुरानो साइगन अहिले नयाँ नामकरण गरिएको होचिमिन्ह सिटी जाने जहाजको प्रतीक्षामा थिए । हामी हनोई जाने जहाज कुरेका थियौँ । कुराकानीमा कम्बोडिया, भियतनाम जस्ता मुलुक क्रमशः विकासमा अगाडि बढ्नुको पछाडि जाति, धर्म, समुदायका नाममा कुनै सङ्कीर्णता छैन । त्यसैले यहाँ काम गर्न सहजता रहेको उनको भनाइ थियो ।

राजा नरोदम सिंहानको ८७ वर्षको उमेरमा मृत्यु भएपछि सन् २०१२ देखि उनका छोरा नरोद शिरोमणि कम्बोडियाका राजा छन् । कम्बोडियामा राजाको कुनै कार्यकारी तथा राजनीतिक भूमिका हुँदैन । उनको सांस्कृतिक भूमिका मात्र हुने गर्दछ । सियामरिप कम्बोडियाको सांस्कृतिक राजधानी भएकाले वैशाख १ गते नयाँ वर्षको उत्सव मनाउन ‘सक्रान्त’ मा ठुलो तयारी गरिएको थियो । वैशाख १ गते ‘सक्रान्त’ उत्सवमा नोमपेन्हबाट राजा शिरोमणि पनि आउने कार्यक्रम रहेको गाइडले हामीलाई जानकारी दिएका थिए । त्यहाँका चैत्य, मठमन्दिरमा ठुलो भिड देखिन्थ्यो । यो सहर कम्बोडियाको पुरानो राजधानीसमेत भएकाले यहाँ राजदरबारसमेत रहेछ । त्यो राजाप्रसाद खमेर वास्तुकलायुक्त आकर्षक भए पनि त्यस्तो कुनै ठुलो भव्य भवन थिएन । हामी बसेको तारा अङ्खोेर होटेलमा राजारानी एवं प्रधानमन्त्रीको फोटो टाँगिएको थियो । प्रधानमन्त्रीको फोटो राजारानीका बिचमा राख्‍नुको अर्थ प्रधानमन्त्री शक्तिशाली र राजा आलङ्कारिक मात्र भएको कुरा बुझ्न सकिन्थ्यो ।