• २४ जेठ २०८२, शनिबार

संस्मरण

गुरुआमा अमृत्यश्वरी

blog

मलाई थाहा थिएन कि म कहिलेदेखि बाबासँग भक्तपुरमा बस्न थालेँ ? मलाई यत्ति चाहिँ थाहा थियो कि म बाबासँगै गुरुआमा अमृत्यश्वरी दैवज्ञको घरमा डेरामा बस्थेँ । बाबा स्वयम् थाङ्का कलाकार हुनुहुन्थ्यो । उहाँसँग उहाँका साथीहरू पनि थाङ्का कलाकारकै रूपमा काम गर्थे, २०/२२ जनाको सङ्ख्यामा डेरामा सँगै बस्थे । भक्तपुरको सल्लाघारीमा अवस्थित सेन्ट जोन्स आवासीय स्कुलमा भर्ना हुनुअघि नै गुरुआमा अमृत्यश्वरी दैवज्ञमार्फत मेरो अक्षरारम्भ भइसकेको थियो । उहाँ मेरो स्कुलको हेड मिस पनि हुनुहुन्थ्यो । पाँच वर्षकै उमेरदेखि मैले सेन्ट जोन्स आवासीय स्कुलमा भर्ना भएर औपचारिक शिक्षाको आरम्भ गरिसकेको थिएँ । म पढेकै स्कुलमा विजय दाइ (मामाको छोरा) पनि पढ्नुहुन्थ्यो । डेरामा पनि सँगै बस्नुहुन्थ्यो । उहाँ स्कुलमा मभन्दा माथिल्लो कक्षाको विद्यार्थी हुनुहुन्थ्यो तर उहाँ र म साथी साथी थियौँ, असाध्यै मिल्ने !

डेरा टौमढी टोलमा थियो । स्कुल सल्लाघारीमा । विजय दाइ र म सधैँ गुरुआमा अमृत्यश्वरी दैवज्ञकै औँला समातेर टौमढी टोलको क्याफे न्यातापोल सामुन्ने पुग्थ्यौँ । त्यहीँ उभिन्थ्यौँ । स्कुल बस सुकुलढोका भएर आउँथ्यो र यसै गरी हामी दुवै नियमित रूपमा गुरुआमा अमृत्यश्वरीसँगै स्कुल जान्थ्यौँ, घर फर्किन्थ्यौँ ।

बाबाका साथीहरू थाङ्का कलाकार कम र राजनीतिक गतिविधि धेरै गर्थे । आफूलाई कट्टर कम्युनिस्ट मान्थे । बाबाले आफ्ना कम्युनिस्ट साथीहरूलाई सेल्टर दिनुहुन्थ्यो । एक दिन मैले बाबाकै एक जना कम्युनिस्ट साथीको तकियामुनि कार्ल माक्र्स र फ्रेडरिक एन्जेल्सका ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ नामक पुस्तक देखेँ । मैले जीवनमै पहिलो पटक देखेको पुस्तक थियो त्यो ! त्यो पुस्तक रातो आवरणमा सुसज्जित थियो ।

एक पटक विजय दाइ र मैले स्कुल नजाने तर बिच बाटोमा खेलिबस्ने योजना बनायौँ । हामी दुवैको योजना भव्य रूपमा सफल भयो पनि । खुसी हुँदै हामी दुवै बिच बाटोबाट घर फर्कियौँ । सधैँ झैँ ठिक समयमै घर पुग्यौँ । विजय दाइ र मेरो सबै गतिविधिबारे जानकार व्यक्ति हुनुहुन्थ्यो– गुरुआमा अमृत्यश्वरी दैवज्ञ तर उहाँले केही भन्नुभएन । हामी दुवैलाई उहाँले सहजै आममाफी दिनुभयो । उहाँले बाबा र मामालाई पनि हामी दुई जनाको बदमासीबारे सुनाउनु भएनछ । यी सब उहाँकै मुखाकृतिबाट स्पष्टै झल्किन्थ्यो तर कसरी कसरी बाबाले थाहा पाउनु भएछ– त्यस दिनको विजय दाइ र मेरो बदमासीबारे । बाबाले हामी दुवैलाई सिस्नुमाथि सुताउन खोजिरहेकै बेलामा विजय दाइ बाबाको पन्जाबाट फुत्किनुभयो, म चाहिँ बाबाको फन्दामा परिसकेको थिएँ– उम्किनै नसक्ने गरी !  बाबाले मलाई स्कुल नगएको अभियोगमा निर्ममतापूर्वक सिस्नुमाथि सुताउनुभयो । म न्वारनदेखिको बल निकालेर रुन थालेँ । मेरो रुवाइले सिङ्गो टौमढी टोल थर्कियो । मेरो रुवाइ सुनेलगत्तै माथि भ¥याङबाट खुरुरु ओर्लेर गुरुआमा अमृत्यश्वरी तुरुन्तै म भएतर्फ आइपुग्नुभयो र मलाई हत्तपत्त काखमा लिँदै उहाँले उल्टै बाबालाई गाली गर्न थाल्नुभयो, “लामा दाइ, तपाईंले अक्कलमाथि गलत बहादुरी देखाउँदै हुनुहुन्छ । तपाईंको यो बहादुरीपन अशोभनीय छ । नाबालकलाई माफी दिनु त कहाँ कहाँ, उल्टै सजाय पो दिनुभयो ।” यति भनेर उहाँले मलाई साथमै लिएर जानुभयो । त्यस रात म गुरुआमा अमृत्यश्वरीकै काखमा निदाएँ ।

बाबा राजनीतिक कार्यकर्ता नभए पनि भूमिगत शैलीमा आफ्नो थाङ्का व्यवसायको नेतृत्व गर्नुहुन्थ्यो । बाबासँग २०/२२ जना बाबाका साथी काम गर्थे । बाबाका सबै साथी कम्युनिस्ट विचारधाराबाट साह्रै प्रभावित थिए । उनीहरू तत्कालीन कुनै कम्युनिस्टनिकट पार्टीको सक्रिय नेता तथा कार्यकर्ता थिए । बाबाका साथीहरू पुस्तक खुब पढ्थे । आफूले पढेका पुस्तकमाथि छलफल गर्थे । राजनीतिक गतिविधिमा सक्रिय रूपले लाग्थे । ‘कम्युनिस्ट’ शब्दलाई मैले बाबाकै कम्युनिस्ट साथीमार्फत पहिलो पटक सुनेको थिएँ । कम्युनिस्टका लागि त्यसबेलाको वातावरण असहज थियो । त्यसै अनुरूप बाबाका साथीहरू भूमिगत राजनीतिक गतिविधिमा बढी सक्रिय देखिन्थे । बाबाले पुलिसको आँखा छल्दै हिँड्नु पथ्र्यो । एक हिसाबले बाबा भूमिगत नै हुनुहुन्थ्यो । राज्यले बाबालाई कम्युनिस्टलाई सेल्टर दिएको अभियोग लगायो र बाबालाई राज्यले एउटा अपराधीका रूपमा हेर्न थाल्यो ।

यसैबिच बाबाका कम्युनिस्ट साथीहरू बाबा र मामालाई एक्लै छाडेर भूमिगत भए । बाबाकै साथीहरूका कारण बाबा र मामा पनि पुलिसको आँखा छल्दै हिँड्न बाध्य हुनुभयो । मेरो कक्षा १ को पढाइ चलिरहेको थियो । विजय दाइको चाहिँ कक्षा २ को । स्कुलमा म राम्रै विद्यार्थीमा गनिन्थेँ । विजय दाइको पनि पढाइ बेसै थियो । बाबा र मामाको त्यस्तो अवस्थाबाट गुरुआमा अमृत्यश्वरी पनि साह्रै चिन्तित देखिनुहुन्थ्यो । सबैभन्दा बढी चिन्तित त उहाँ मेरो र विजय दाइको भविष्यलाई लिएर हुनुभयो । 

एक पटक पुलिस हामी बसेको डेरामा कसैलाई नसोधी प्रवेश गरे । बाबा र बाबाका साथीहरू पहिल्यै डेराबाट भागिसकेका थिए । म र विजय दाइ चाहिँ पुलिस आएको चाल पाएर पलङमुनि लुकिरहेका थियौँ । बाबाहरूलाई नभेटेको रिसमा पुलिसले आफ्नो बुटले थाङ्कामा प्रयोग गरिने रङका बट्टालाई कच्याकथुच्युक पारे । एक/एक गरेर यत्रतत्र छरिएर रहेका थाङ्कालाई जथाभाबी च्यात्न थाले र पुलिसहरू बाहिर निस्के । विजय दाइ र मेरो मुटुको गति डरले छिटो छिटो बढिरहेको थियो । बाबा र बाबाका साथीहरू डरले डेरामा आएनन् । पुलिसहरू गइसकेपछि गुरुआमा अमृत्यश्वरीले विजय दाइ र मलाई पलङबाट बाहिर निकाल्नुभयो र आफूसँगै साथमा लिएर जानुभयो । बाबालाई सबैले ‘सुब्बा’ नामले बोलाउँथे । बाबाको प्रचलित नाम पनि ‘सुब्बा’ नै थियो । भूमिगत बाबालाई पुलिसले खोजिरहेका थिए । बाबालाई खोजिरहेकै क्रममा पुलिसले गाउँकै ‘सुब्बा’ मामालाई पक्रियो । ‘सुब्बा’ मामाको ज्यान (शरीर) भयङ्कर थियो । उचाइ पनि धेरै थियो । उहाँ गोरो अनुहार, चिटिक्क परेको हुनुहुन्थ्यो । एक जना पुलिसले ‘सुब्बा’ मामालाई च्याप्प समाएर सोधे, “तिमी नै होइन, कम्युनिस्टलाई सेल्टर दिने मान्छे ?” यति भनेर पुलिसले रिसको झोकमा ‘सुब्बा’ मामालाई बन्दुकको नाल र बुटले जथाभाबी हिर्काउन थाले । पुलिसको कुटाइ खाइसकेपछि ‘सुब्बा’ मामाले वास्तविकता सुनाउनुभयो, “सर, सुब्बा मेरो पनि नाम हो तर म कम्युनिस्टलाई सेल्टर दिएर राख्ने सुब्बा चाहिँ होइन ।”

विजय दाइ र म गुरुआमा अमृत्यश्वरीको संरक्षणमा थियौँ । एक साँझ हतारिँदै मामा र बाबा गुरुआमा अमृत्यश्वरी र हामी दुई भएतर्फ आउनुभयो र गुरुआमा अमृत्यश्वरीतर्फ फर्केर मामाले हतार हतार सुनाउनुभयो, “गुरुआमा, हामीलाई पुलिसले चारैतर्फ द्रुत गतिमा खोजिरहेका छन् । विजय र अक्कल भान्जालाई त्यसै छाड्नुभएन । उनीहरू दुवैलाई लिन आएका छौँ । अब, यहाँबाट हामी तुरुन्तै जाने छौँ– गाउँको बाटो पछ्याउँदै पछ्याउँदै ।”

यति भनेर मामाले विजय दाइलाई आफ्नो काँधमा राख्नुभयो । बाबाले पनि विजय दाइलाई जसरी नै मलाई आफ्नो काँधमा राख्नुभयो । त्यसपछि गुरुआमा अमृत्यश्वरीले विजय दाइ र मतर्फ फर्केर साह्रै भावुक हुँदै वचन दिनुभयो, “अक्कल/विजय, केही चिन्ता नलिनू । समय यस्तै छ प्रतिकूल । स्विकार्नै पर्छ । आफू जहाँ रहन्छौ, त्यहीँ सुरक्षित रहनू । राम्रोसँग पढ्नू । ज्ञानी हुनू । मेरो दुवैलाई आशीर्वाद छ । सम्झना पनि अवश्य रहने छ । पछि भेटौँला ।”

छुट्टिनुअघि गुरुआमा अमृत्यश्वरीलाई मैले एक पटक पुलुक्क हेरेँ । उहाँका आँखा टम्म भरिइसकेका थिए ।