कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ २४ गते । बुटवल उपमहानगरपालिका– १५ सेमलारस्थित परोपकार कुञ्ज धाममा भौतिक संरचनाको काम थालिएका छ । एक समारोहका विचमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र भागवत भाष्कर पण्डित कमलनयन गौतमलगायतले निर्माण हुने संरचनाहरुको शिलान्यास गर्नुभयो ।
पहिलो चरणामा सचिवालय, गार्र्ड रूम, गुरू निवास, चार सय जना अट्ने गरी भोजनालयको शिलान्यास भएको हो । तिनाउ नदीको तटमा पर्ने स्थानमा परोपकार कुञ्ज धाम निर्माण गरी धामलाई अध्ययनको केन्द्र समेत बनाउँदै युवापुस्तालाई धार्मिक जागरणमा जोड, संस्कार प्रदान गरिने परिकल्पनाकार भागवत गौतमले बताउनुभयो ।
उहाँले आवश्यकताका आधारमा मुठीदान, पर्यावरण संरक्षण, ज्येष्ठ नागरिक चौतारीलगायतका अभियानहरु देशैभर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
धामलाई यसक्षेत्रकै नमुना बनाउन सकिने र सबैभन्दा पहिले जग्गा प्राप्तिको कामलाइ अगाडि बढाउन नगरप्रमुख पाण्डेयले आग्रह गर्नुभयो । धामलाई योग केन्द्रको रुपमा पनि अगाडि बढाएमा स्थानीय सरकारको सहकार्य र सहयोग रहने उहाँको भनाइ छ ।
हाल पहिलो चरणमा १६ करोडको लागतमा विभिन्न संरचनाहरु बनाइने छ । परोपकार कुञ्ज धाम निर्माण समिति अध्यक्ष हरिध्वज मल्लले अब धमाधम काम हुने बताउनुभयो । सो धामक्षेत्रमा ३ बिगाहा ९ कठ्ठा ६ धुर जग्गा रहेको छ ।
शिलान्यास समारोहमा बुटवल उप महानगरपालिकाका प्रवक्ता एवम् वडा १५ का अध्यक्ष शिव राना, रूपन्देही जिल्ला कार्यसमिति अध्यक्ष शान्ति अधिकारी, परोपकार सेमलार एकाइ समिति एकाइ अध्यक्ष डम्बरबहादुर भण्डारी, सचिव भिमप्रसाद सापकोटालगायतले धामको विकासमा हातेमालो गर्नुपर्ने धारणा राख्नुभएको थियो । सोही धाममा हिजो फलफूलका बिरुवाहरुसहित वृक्षरोपण गरिएको केन्द्रीय सदस्य तुलसीराम भण्डारीले जानकारी दिनुभयो ।
देशभर विभिन्न अभियानहरू मार्फत परोपकारी कार्यहरू सञ्चालन गरिरहेको राष्ट्रिय परोपकार महासंघ नेपालले धाम निर्माणका लागि भन्दै गतवर्ष फागुन ४ देखि ११ गते सम्म श्रीमद् भागवत् धनधान्यान्चल महायज्ञ गरेको थियो ।