• २४ जेठ २०८२, शनिबार

टेको लगाएर पुल सञ्चालन गर्ने तयारी

blog

चोरमारास्थित गिरुबारीखोलाको भाँचिएको पुल ।

नवलपुर समाचारदाता 

नवलपुर, जेठ १३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोरमारास्थित गिरुबारी खोलाको भाँचिएको पुल तत्कालका लागि टेको लगाएर सञ्चालन गरिने भएको छ । नयाँ पुल बनाउन लामो समय लाग्ने भएपछि तत्कालका लागि टेको लगाएर यातायात सञ्चालनको तयारी गरिएको हो । 

वर्षाअघि नयाँ पुल नबन्ने भएपछि पुरानैलाई मर्मत गरेर सञ्चालन गर्न लागिएको हो । अबको १५ दिनभित्रमा पुललाई सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम भइरहेको सडक आयोजनाले जनाएको छ । पुलको भाँचिएको भागलाई तलबाट टेको लगाएर उठाउने र पहिलेको अवस्थामा आएपछि भाँचिएको फलामका पाता फेरेर पुल सञ्चालन गरिने सडक डिभिजन चितवनका इन्जिनियर आशिष नेपालले जानकारी दिनुभयो । 

इन्जिनियर नेपालले भन्नुभयो, “नयाँ पुल बन्नका लागि अझै तीन/चार महिना लाग्ने देखियो । त्यसैले हाललाई पुरानै पुल मर्मत गरेर सञ्चालन गर्नुपर्ने बाध्यता भयो । पुरानो मर्मत गरिरहँदा त्यति बलियो त हुँदैन, त्यसैले नयाँलाई नै प्राथमिकता दिनु पर्छ ।”

पुललाई मर्मत गरेर सञ्चालन गर्नका लागि सडक विभागले जलप कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । गत मङ्सिर २९ गते पुलमा म.प्र ०३–००१ क ३१६३ नं. को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट वीरगञ्जतर्फ जाँदै गर्दा पुल भाँचिएको थियो । झन्डै तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो । 

हाल पुल भाँचिएपछि सवारीसाधन आवागमनमा रोक लगाइएको छ । पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने सवारीसाधन लामो डाइभर्सनबाट पास हुने गरेका छन् । गत पुस २६ गते भारतीय हेभी ट्रक पास हुने क्रममा दुम्कीबासस्थित विनयी खोलाको पुल पनि भाँचिएको थियो । यसअघि नवलपुरको गैँडाकोटको जय श्री पुल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहाखोला पुल भाँचिएपछि मर्मत गर्दै सञ्चालन गरिएको छ ।